असोज २०, २०७८ बुधबार

कैलाली । धनगढीमा तीन वर्षअघि २०७५ चैतमा सम्पन्न भएको मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताका विजेता खेलाडीले बुधबार पुरस्कार पाएका छन् । सुदूरपश्चिम खेलकुद परिषद्ले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरूलाई पुरस्कार प्रदान गरेको हो ।

तीन वर्षसम्म सुदूरपश्चिम खेलकुद विकास समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त खातामा रहेको रकम अहिले आएर खेलाडीलाई वितरण गरिएको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए ।

व्यक्तिगततर्फ पहिलो हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद दिइएको छ । प्रतियोगितामा आयोजक सुदूरपश्चिम प्रदेश ३ स्वर्ण, १ रजत र ३ कास्यसहित च्याम्पियन बनेको थियो ।