सन् २०२१ को रसायनशास्त्रको नोबल प्राइज एकअर्काको ‘मिरर इमेज’ रहेका अणुहरूको विकास गर्ने दुई वैज्ञानिकहरू जर्मनीमा जन्मिएका बेन्जामिन लिस्ट र बेलायती डेभिड म्याकमिलनलाई प्रदान गरिने भएको छ । स्टकहोममा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई विजेता घोषणा गरिएको हो । उनीहरूको रसायनिक टुलकिटलाई नयाँ औषधि र सोलार सेलमा प्रकाशलाई नियन्त्रण गर्न सक्ने अणुहरूको विकासका लागि प्रयोग भइरहेका छन् ।
विजेताले कूल १ करोड क्रोना (८ लाख ४२ हजार ६११ डलर) प्राप्त गर्नेछन् । लिस्ट र म्याकमिलनको कामको मद्दतले असममित अणुहरू विकास गर्न सहज भएको छ, जहाँ रसायनहरू दुई संस्करणमा रहन्छन् जुन एउटा अर्काको मिरर इमेज हुन्छन् ।
नोबेल कमिटीले उनीहरुको कामले अणुहरुको निर्माणलाई नयाँ उचाईंमा लगेको बताएको छ । कमिटीको सदस्य रहेका स्वीडेनको लन्ड विश्वविद्यालयका प्राध्यापक पिटर सोमफाइले दुई वैज्ञानिकको अध्ययनलाई ‘गेम चेन्जर’ भएको बताउँदै उसले मानव जातिलाई ठूलो फाइदा पु¥याउने आशा व्यक्त गरे ।
स्वीडिस उद्योगपति अल्फ्रेड नोबलले सन् १८९६ मा मृत्युको ठीक एक वर्षअघि आफ्नो वसियतनामामा यो पुरस्कार स्थापना गर्ने घोषणा गरेका थिए । सन् १९०१ बाट पुरस्कार बाँड्न सुरु गरेयता १८७ जनाले रसायनशास्त्रको नोबेल पुरस्कार जितिसकेका छन् । यसमध्ये ७ जना मात्र महिला रहेका छन् । सबैभन्दा बढी अमेरिकाका ७२ र त्यसपछि जर्मनी र बेलायतका ३४–३४ जनाले यो पुरस्कार हात पारेका छन् । –बीबीसी