असोज २१, २०७८ बिहिबार

काठमाडौं । आजदेखि बडादशैँ सुरु भएको छ । दशैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइँदै छ ।

पौराणिक मान्यताअनुसार दुर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजदेखि घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ ।

नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैँ घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ ।

शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ । शास्त्रीय विधि अनुसार आज शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रूपमा लिइन्छ ।