काठमाडौँ, २ वैशाख : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डा दीपेन्द्र रोकायले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न आग्रह गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाउनुभएको छ ।
हुम्ला कुनै समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तर उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उहाँले गर्नुभएको छ । उहाँले भन्नुभयो, “अब सामाजिक न्यायको आधारमा सबभन्दा पछाडि रहेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”
नेता डा रोकायले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लाको ठोस र परिणाममुखी सम्बोधन हुनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा आफ्नो पत्र बुझाउनुभएको हो । उक्त प्रस्तावमा कर्णाली करिडोरका पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट, सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्याउनुपर्नेमा जोड दिइएको छ ।
हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माणजस्ता रणनीतिक पहलमार्फत हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने दृष्टि प्रस्तुत गरिएको छ ।
हुम्ला कर्नाली–१ र २ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण, साना आयोजना राष्ट्रिय ग्रिडमा जोड्ने तथा सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव अघि सारिएको छ ।
कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कनस्थल विकासमार्फत हुम्लालाई अन्तरराष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्ने नेता डा रोकायाको अवधारणामा उल्लेख छ ।