गण्डकी, ३ वैशाखः पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि रोटरी डिस्ट्रिक्ट ३२९२ को १८औँ डिस्ट्रिक्ट कन्फरेन्स (सम्मेलन) हुने भएको छ । सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा शुक्रबार (भोलि)देखि सम्मेलन सुरु भई यही वैशाख ६ गतेसम्म सम्मेलन हुने बताउनुभयो ।
नेपाल, भुटान, अमेरिका, भारत, अष्ट्रेलियालगायत स्थानबाट एक हजार ५०० जना रोटरियनले भाग लिने सम्मेलनले यहाँको आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा पर्यटन व्यवसायमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सम्मेलन सफल पार्न लक्ष्मी थापा गिरीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
विभिन्न २० उपसमितिले आ-आफ्नो जिम्मेवारीमा रहेर कार्यक्रम सभ्य र भव्य बनाउन लागिपरेका मूल समारोह समिति सचिव जयराम पौडेलले बताउनुभयो । सम्मेलनमा विभिन्न विधामा नेपाल र विदेशका विज्ञहरूद्वारा रोटरीको सेवा क्षेत्रमा कार्यपत्र प्रस्तुत हुने रोटरीका असिस्टेन्ट गभर्नर एवं सम्मेलनका प्रेस संयोजक रवीन्द्र बास्तोलाले जानकारी दिनुभयो ।
यसअघि पोखरामा सन् २०१३/१४ मा तत्कालीन डिस्ट्रिक्ट गभर्नर दिलेन्द्रराज श्रेष्ठ र सन् २०१९/२० मा किरणलाल श्रेष्ठको पालामा सम्मेलन भएको थियो ।