असोज २१, २०७८ बिहिबार

एजेन्सी । भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहीबार बिहान एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका छन् । देवा इलाकाको बबुरी गाउँनजिकै भएको दुर्घटनामा ९ यात्रीको घटनास्थलमा नै मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यीमध्ये थुप्रै गम्भीर अवस्थामा रहेकाले मृतकको सङ्ख्या पनि बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०–७० यात्रु सवार थिए । सडकमा अचानक आएको गाईलाई जोगाउन खोज्दा ट्रक र बस ठोक्किएको भास्कर दैनिकले बताएको छ ।

एसपी यमुना प्रसादले प्रहरी बल दुर्घटनास्थल पुगेर उद्धारकार्य सुरु गरेको जानकारी दिएका छन् । यी दुई गाडी यति बेस्सरी ठोक्किएका थिए कि दुबैको अगाडिको भाग ध्वस्त भएका छन् । स्रोतका अनुसार थुप्रै शव र यात्री गाडीभित्र नराम्रोसँग फसेका थिए । मृतकको सनाखतको प्रयास गरिँदै छ ।