काठमाडौँ, १८ वैशाख : टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । टोखा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाभित्रका ११ वडामा वैशाख २० गतेदेखि निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
नगरप्रमुख प्रकाश अधिकारीले यसअघि अस्पताल र स्वास्थ्य केन्द्रमा मात्र सीमित रहेको यो कार्यक्रमलाई यस वर्षदेखि अझ प्रभावकारी बनाउन वडावडामा विस्तार गर्न लागिएको जानकारी दिनुभयो । उहाँले वैशाख २० गते वडा नं ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यस वर्षको कार्यक्रम शुभारम्भ गरिने बताउनुभयो । त्यसपछि प्रत्येक वडामा तीनतीन दिनको तालिका बनाएर स्वास्थ्य सेवा उपलब्ध गराइने नगरपालिकाले उहाँले बताउनुभयो ।
कार्यक्रमको पहिलो दिन ३० वर्षभन्दा माथिका नागरिकका लागि नसर्ने रोगको परीक्षण (स्क्रिनिङ) गरिनेछ । यसअन्तर्गत तौल र उचाइको अनुपात बीएमआई, रक्तचाप, सुगर, पिसाबमा एल्बुमिन, क्षयरोगको खकार परीक्षण तथा महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर भीआइए परीक्षण गरिने नगरपालिकाले जनाएको छ । परीक्षणका क्रममा स्वास्थ्यमा समस्या देखिएकालाई थप उपचारका लागि दोस्रो दिनको शिविरमा पठाइनेछ ।
दोस्रो दिन वडाभित्र स्थायी रूपमा बसोबास गर्ने ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिक र ६० देखि ७० वर्ष उमेर समूहका लक्षित वर्गलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो । सोही दिन प्रयोगशाला परीक्षणका लागि नमूना सङ्कलन, भिडियो एक्स–रे र इसिजी सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार थाइराइड र (प्रोस्टेट)को परीक्षण भने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने व्यवस्था मिलाइएको छ ।
तेस्रो दिन विशेषज्ञ चिकित्सकले रिपोर्टका आधारमा बिरामीलाई निःशुल्क औषधि वितरण, स्वास्थ्य परामर्श र आवश्यकताअनुसार थप उपचारका लागि अन्य अस्पतालमा रेफर (प्रेषण) गर्नेछन् । नगरपालिकाले नसर्ने रोगको समयमै पहिचान, रोकथाम र विशेषज्ञ सेवासहितको यस कार्यक्रमका लागि आन्तरिक स्रोतबाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।