बैशाख १८, २०८३ शुक्रबार

काठमाडौँ, १८ वैशाखः सञ्चार क्षेत्रमा सामाजिक सञ्जाल र एल्गोरिदमको प्रभाव बढ्न थालेकाले यससम्बन्धी सचेतना वृद्धि हुनुपर्नेमा जोड दिइएको छ ।

    नेपाल प्रेस युनियनले फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) को सहयोगमा आज यहाँ आयोजना गरेको ‘डिजिटल रुपान्तरण : अर्थ राजनीति र सञ्चार क्षेत्रका चुनौती’ विषयक सेमिनार कार्यक्रमका वक्ताहरूले सामाजिक सञ्जाल र एल्गोरिदमको प्रभावले चुनौती थपिएकाले यससम्बन्धी चेतना बढाउनुपर्नेमा सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन् ।
 
    प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हरिहर विरहीले सञ्चारमाध्यममा एल्गोरिदम उपहार र चुनौती दुवै हुन सक्ने भएकाले सकारात्मक रुपमा राम्रो प्रभाव पार्नेगरी अघि बढाउनुपर्ने बताउनुभयो । एउटा झूटलाई सयपटक दोहो¥याएर सत्य साबित गर्न सकिन्छ भन्ने मान्यताअनुसार नेपालमा सामाजिक सञ्जाल र एल्गोरिदमलाई प्रयोग गर्न थालिएकाले सचेत हुनुपर्ने उहाँको भनाइ थियो । 

    नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तूफानले नेपाली सञ्चार क्षेत्रमा चौतर्फी आक्रमण भइरहेको बताउनुभयो । युनियनका अर्का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले सामाजिक सञ्जाल र एल्गोरिदमबाट उत्पन्न गराइने भ्रमबाट नेपाली सञ्चारमाध्यम मुक्त हुनुपर्ने बताउनुभयो । यस्तो भ्रमबाट जनतालाई पनि मुक्त गराउने दायित्व सञ्चारमाध्यमकै रहेको उहाँको भनाइ थियो । 

    युनियनका सल्लाहकार एवं वरिष्ठ पत्रकार तेजप्रकाश पण्डितले एल्गोरिदमको प्रभावबाट नेपाली समाजलाई मुक्त गराउने काममा सञ्चारमाध्यमले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले एल्गोरिदमको नकारात्मक मात्र नभई सकारात्मक पक्ष पनि भएकाले गलत कुरा सकारात्मक विषय मात्र लिनसक्नुपर्ने बताउनुभयो । 
 
    महासङ्घका पूर्वसचिव एवं रत्नराज्यलक्ष्मी क्याम्पस पत्रकारिता विभागका प्रमुख डा जगत नेपालले नेपाली सञ्चारमाध्यमका बारेमा अध्ययन एवं अनुसन्धान नभएकाले पनि यस्तो अवस्था आएको बताउनुभयो । यस्ता कार्यक्रमले सञ्चारमाध्यम र यहाँ आबद्ध सबैलाई अध्ययन–अनुसन्धानतर्फ प्रेरित गर्ने उहाँको भनाइ थियो । 
 
    कार्यक्रममा उज्ज्वल आचार्य र पुष्पराज आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि झा र कृष्णा पौडेलले टिप्पणी गर्नुभएको थियो । यसैगरी, पुष्पराज आचार्य प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि नेपाल र बिमला तुम्खेवाले टिप्पणी गर्दै नेपाली पत्रकारिता क्षेत्रमा देखिएका चुनौती सामना गर्न चेतना र जागरण फैल्याउनुपर्नेमा जोड  दिनुभएको हो ।
 
    एफइएसका कार्यक्रम व्यवस्थापक पवित्रा राउतले मिडिया साक्षरतालगायत विषयमा पत्रकारितासँग सम्बन्धित संस्थासँग मिलेर यस्ता गतिविधि गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा युनियनका अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलीप पौडेल, प्रेस सेन्टर नेपालका उपमहासचिव बुद्ध लोप्चन, महासङ्घका सचिव सोनी शर्मालगायतले भ्रमबाट नेपाली सञ्चारमाध्यमलाई मुक्त गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।