असोज २३, २०७८ शनिबार

कञ्चनपुर । कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ३५ लाख ९ हजार ७५२ रुपिञा १२ पैसा नाफा कमाउन सफल भएको छ । कोभिड १९ का कारणले अर्थतन्त्र थिलथिलो भएको अवस्थामा पनि संस्थाले कमाएको उक्त नाफा अघिल्लो वर्षको तुलनामा ८५.३९ प्रतिशतले बढी हो ।

शुक्लाफाँटा नगरपालिका वडा नं-१० मा सञ्चालित यस सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ३५.८४ प्रतिशतले ऋण लगानी वृद्धि गर्दै १० करोड ५१ लाख ८० हजार ५५८ रुपिञा पुर्‍याएको छ भने सोही आ.व.मा १ करोड ३५ लाख ४८ हजार ५ सय रुपिञा शेयर पूँजी रहेको छ । जुन अघिल्लो वर्षभन्दा २९.५८ प्रतिशतले बढी हो । शनिवार आयोजित संस्थाको नवौं वार्षिक साधारणसभामा कोषाध्यक्ष रामभरोसा रानाले प्रतिवेदन पेश गर्दै यस्तो जानकारी दिएका हुन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्का प्रमुख अतिथि रहेका थिए । संस्थामा हाल ४ हजार ५ सय जना शेयर सदस्य रहेका छन् ।