असोज २३, २०७८ शनिबार

एजेन्सी । नेपाल-भारत सीमानजिक लखिमपुर हिंसाको सातौ दिन भारतका केन्द्रीय गृहमन्त्री अजय मिश्राका छोरा आशिष मिश्राले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । 

मिडिया रिपोर्टका अनुसार १२ वटाभन्दा धेरै पेन ड्राइव बोकेर आशिष प्रहरीसमक्ष पुगेका हुन् । यी पेन ड्राइभमा रहेका भिडियोहरूले उनी घटनाको दिन कहाँ थिए भन्ने प्रमाणित गर्छ । उनले आफू घटनास्थलमा नरहेको र घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् । 


यस्तो भएको थियो...


भारतको उत्तर प्रदेशस्थित लखिमपुर जिल्ला कार्यालयबाट झन्डै ७५ किलोमिटर टाढा नेपालको सीमा नजिकैको तिकुनिया गाउँमा गत आइतबार हिंसा र आगलागी हुँदा ८ जनाको मृत्यु भएको थियो । यस गाउँमा रहेको एक स्कुलको कार्यक्रममा सहभागी हुन केन्द्रीय गृहमन्त्री अजय मिश्रा आएका थिए ।

किसानहरूले पनि कालो झण्डा देखाउँदै उनको विरोध गरे । त्यसक्रममा मन्त्रीसँगै आएका गाडीहरू धर्नामा बसेका किसानहरूलाई किचेर तेजसँग अघि बढे । चारजना किसानको यसक्रममा ज्यान गयो भने एक दर्जनभन्दा धेरै घाइते भए । त्यस्तै, दुईजना बिजेपीका कार्यकर्ता र दुईजना ड्राइभरको पनि मृत्यु भयो  । 

गृहमन्त्रीका छोरा आशिष मिश्रामाथि धर्नाकारीलाई गाडीले कुल्चिएको र एकजना किसानमाथि गोली हानेको आरोप छ । यस घटनाको समाचार कभरेज गर्नेक्रममा साधन न्युज च्यानलका संवाददाता रतन कश्यपको पनि मृत्यु भएको थियो । गाडीमा ठक्कर खाएपछि उनी सडक किनारमा रहेको पानीमा डुबेका थिए ।