बैशाख १९, २०८३ शनिबार

लिस्बन (पोर्चुगल), १९ वैशाखः विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती युरोपेली मुलुक पोर्चुगलमा पनि मनाइएको छ ।

    नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा शुक्रबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइएको हो । 

    लिस्बनको आन्जोसस्थित जिनासियो क्लबको हलमा आयोजित कार्यक्रममा बौद्ध धर्म गुरुहरुद्वारा बुद्धको विशेष पूजा–आराधना गरिएको थियो भने सहभागीहरुलाई सामूहिक रुपमा ध्यान गराइएको थियो ।  

    सो अवसरमा बौद्ध धर्मगुरु फुरी शेर्पाले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशलगायत विषयमा प्रवचन दिनुभएको थियो ।

    बुद्धजयन्तीको शुभकामना व्यक्त गर्दै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले मानवजातिका लागि बुद्धका ज्ञान र शिक्षाहरु अमूल्य रहेको बताउनुभयो । उहाँले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई व्यावहारिक जीवनमा आत्मसात् गर्दै सत्कर्मको मार्गमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

    विश्व शान्तिको कामना गर्दै बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देशहरू फैलाउने तथा बुद्धको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइएको महासङ्घका अध्यक्ष चोपकुमार रानामगरले बताउनुभयो । उहाँले बुद्ध जयन्तीलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभावहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।