गण्डकी, २३ वैशाखः पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ ।
किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । महानगरभित्रका एक हजार बढी किसानहरूबाट २१ हजार किलोग्राम धानको बीउ माग भएको जनाउँदै उहाँले मागअनुसारको बीउ भने उपलब्ध गराउन नसकिएको बताउनुभयो ।
उहाँका अनुुसार पोखरामा अत्यधिक रूपमा पोखरेली जेठो बुढोको माग हुने गरेको छ । महानगरपालिकाले वितरण गर्न लागेको मध्ये दुई हजार किलो राम धान र अन्य पोखरेली जेठो बुढोको बीउ भएको उहाँले जानकारी दिनुभयो ।
महानगरपालिकाले यहीँका किसानबाट प्रतिकिलो दुुई सय रुपैयाँमा धानको बीउ किनेर ५० प्रतिशत अनुदानमा एक सय रुपैयाँमा उपलब्ध गराउने गरेको छ । किसानलाई धानको बीउ उत्पादनका लागि प्रोत्साहन गरिँदै आएको जानकारी दिँदै कडरियाले महानगरभित्र वडा नं १३, २३, २६, २९, ३० लगायतका किसानले बीउ उत्पादन गरिरहेको जानकारी दिनुभयो ।
महानगरपालिकाले स्थानीय अनदी, पहेँलेजस्ता धानको संरक्षणका लागि जैविक स्रोत संरक्षण अभियानमार्फत उत्पादित धानको बीउ ल्याएर किसानलाई उपलब्ध गराउने गरिएको पनि शाखाका प्रमुख कडरियाले जानकारी दिनुभयो ।