सिद्धार्थनगर (भैरहवा), २३ वैशाख ः श्रवण शक्ति कमजोर तथा कान नसुन्ने बालबालिकालाई शिक्षा दिने उद्देश्यले रुपन्देहीको भैरहवामा स्थापना गरिएको बहिरा बाल माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउँदै छ ।
विशेष शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको विद्यालय अहिले लुम्बिनी प्रदेशकै एकमात्र यस्तो विद्यालयका रूपमा परिचित छ ।
विसं २०३२ सालमा तत्कालीन सिद्धार्थनगर नगरपालिका–२ मा स्थापना भएको विद्यालयमा हाल पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयमा नेपालका ३६ जिल्ला र भारतका विभिन्न स्थानबाट आएका गरी २४३ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये १३५ विद्यार्थी छात्रावासमा बस्दै आएका छन् ।
विद्यालयका प्राचार्य भीमबहादुर थापाले सीमित स्रोतसाधनका बीच पनि विद्यालयले विशेष आवश्यकता भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको जानाकारी दिनुभयो । उहाँका अनुसार, विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।
विद्यालयले औपचारिक शिक्षासँगै सिलाइकटाइलगायतका सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको छ । विद्यार्थीको आवतजावत सहज बनाउन दुईवटा बसमार्फत यातायात सुविधा उपलब्ध गराइएको छ । प्राचार्य थापाले खेलमैदान, आधुनिक विज्ञान प्रयोगशाला, छात्रावास विस्तार र विद्यार्थीमैत्री शिक्षण सामग्रीको अभाव रहेको उल्लेख गर्दै तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउनभयो ।
पाँच दशक पूरा गरेको विद्यालयले विशेष शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई स्थानीयवासीले प्रशंसनीय उपलब्धिका रूपमा लिएका छन् ।