बैशाख २३, २०८३ बुधबार

पर्वत, २३ वैशाख ः ग्रामीण सडकहरू सामान्य मर्मत, सुधार र नाली सफा गर्ने कार्यबाहेक स्तरोन्नती र कालोपत्रका लागि अधिकांश स्थानीय तहहरु सङ्घीय र प्रदेश सरकारकै भर परिरहेको देखिन्छ । 
    
तर सीमित स्रोत र साधनका बीच प्रभावकारी ढङ्गले बजेट उपयोग गर्दै यहाँको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीले वडागत बजेटबाटै सडक कालोपत्रे सम्पन्न गरेको छ । कुश्मा –१३ वडाअध्यक्ष तेजप्रसाद चापागाईका अनुसार वडाको आफ्नै बजेटबाट दोविल्ला–सिल्मी–ठुलीपोखरी खौला–कार्किनेटा सडक खण्डको करिब तीन सय ५० मिटर भाग कालोपत्रे गरिएको हो ।

वडामै पहिलोपटक छिमेकी वडा ठुलीपोखरीको सिमानादेखि ३५० मिटर सडक कालोपत्र गरिएको चापागाईँले बताउनुभयो । नगरपालिकाबाट वडागत रूपमा करिब रु ७० लाख बजेट सिलिङ प्रदान गरिए पनि विभिन्न विषयगत शीर्षकमा बजेट विनियोजन गर्दा सडक निर्माण योजनामा परेको रु ३२ लाख खर्च गरेर सडक कालोपत्र गरिएको हो ।

कुश्मा नगरपालिकाले वडागत बजेट वितरण प्रणाली अपनाउँदा कतिपय स्थानमा अनावश्यक खर्च भएको जनाउँदै आलोचना भइरहेका बेला यो वडाले भने स्रोतको प्रभावकारी उपयोग गरी उदाहरणीय काम गरेको स्थानीयवासीको भनाइ छ ।

वडाअध्यक्ष चापागाईँले उक्त सडक निर्माणकार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने योजना रहेको बताउनुभयो । “सीमित बजेटका कारण अपेक्षितस्तरमा काम गर्न केही समस्या भए पनि उपलब्ध स्रोतलाई अधिकतम प्रयोग गरेर काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार केन्द्र र प्रदेश सरकारबाट पर्याप्त सहयोग नपाउँदा स्थानीय तहले सीमित बजेटमै काम गर्नुपर्ने बाध्यता रहेको छ । तथापि, वडाले विकास निर्माणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप पूर्वाधार विस्तार गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ । 

सदरमुकाम कुश्मा जोड्ने १४ किलोमिटर लामो रहेको दोविल्ला–सिल्मी–ठुलीपोखरी खौला–कार्किनेटा सडकअन्तर्गत वडा नं १२ ठुलीपोखरीको सिमानासम्म गण्डकी प्रदेश सरकारको सहयोगमा सडक कालोपत्र भए पनि खौलादेखि कार्कीनेटासम्मको झन्डै चार किलोमिटर सडक स्तरोन्नति हुन नसकेपछि वडाकै बजेट उपयोग गरेर कालोपत्र गरिएको अध्यक्ष चापागाईँले जानकारी दिनुभयो । 

ठुलीपोखरीदेखि खौलासम्मको झन्डै तीन किलोमिटर सडक अहिले कालोपत्रको काम धमाधम भइरहेको छ । यो सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुँदै आएको छ ।

बीस लाख खर्चेर बास्केटबल कोर्ट निर्माण  

सदरमुकाम कुश्माबजारमा पहिलोपटक बास्केटबल कोर्ट निर्माण सम्पन्न भएको छ । कुश्मा नगरपालिका–५ बडागाउँचौरमा जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहेको जग्गामा पर्वत बास्केटबल सङ्घले कोर्ट निर्माण सम्पन्न गरेको हो । सङ्घले देउसीभैलोका साथै सरकारी र गैरसरकारी निकायको सहयोगमा मैदान निर्माण सम्पन्न गरेको जानकारी दिएको छ । 

सङ्घका अध्यक्ष मीनबहादुर पुनका अनुसार श्रमदानबाहेक रु १८ लाख ३१ हजार ४०० को लागतमा निर्माण गरिएको हो । देउसीभैलोबाट सङ्कलित रु छ लाख, कुश्मानगरपालिकाबाट रु पाँच लाख, मोदी गाउँपालिकाबाट रु एक लाख ५० हजार, जलजला गाउँपालिकाबाट रु एक लाख, पैयूँ गाउँपालिकाबाट रु ५० हजार र विभिन्न मनकारी सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा निर्माण पूरा भएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

जिल्ला बास्केटबल सङ्घ पर्वतले गत तिहारमा देउसीभैलो खेली सङ्कलित पैसाबाट मैदान पुनर्निर्माण थालेको थियो । उहाँका अनुसार देउसीभैलोबाट रु पाँच लाख ८७ हजार ९८६ सङ्कलन भएको थियो । कोर्ट निर्माणका लागि रु दुई लाखभन्दा बढीको श्रमदानसमेत गरिएको थियो ।

यसअघि पर्वत जिल्ला बास्केटबल सङ्घको टिम बास्केटबल प्रतिस्पर्धामा २०८० सालमा गण्डकी प्रदेशमै प्रथम भएको थियो । त्यस्तै २०८१ सालमा गण्डकी प्रदेशमा दोस्रो भएको थियो । यसअघि पर्वतमा कुनै पनि पालिकाले बास्केटबलको प्रवर्द्धनमा खर्च नगरे पनि २०८० सालमा जलजला गाउँपालिकाले रु एक लाख विनियोजन गरेको थियो ।

मैदानसंगै फाइबर बोर्ड, प्यारापिट, तारजालीलगायतका संरचना निर्माण गरिएको हो । पर्वत जिल्लामा धेरै वर्षअगाडिदेखि यो खेल हुँदै आए पनि २०७९ सालमा मिलन पाइजाको अध्यक्षतामा जिल्ला बास्केटबल सङ्घ गठन गरिएको थियो ।

यसैबीच बास्केटबल कोर्टको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका प्रमुख जोशीले पछिल्लोपटक बास्केटबल खेलप्रति आकर्षण बढ्दै जाँदा बास्केटबल मैदान अत्यावश्यक रहेको बताउनुभयो । मैदान आवश्यक ठानेर नै नगरपालिकाले रु पाँच लाख सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।