काठमाडौँ, २३ वैशाख ः हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ गरेका छन् । काठमाडौँ महानगरपालिका–२९ इन्द्रचोकस्थित एक सुनचाँदी पसलमा हतियार देखाइ लुटपाटको प्रयास गरेको अभियोगमा दुई जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न भक्तपुरको थिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक र काठमाडौँ महानगरपालिका–१९ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेललाई जिल्ला प्रहरी पसिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट चिनियाँ पेस्तोल र त्यसको म्यागजिन, गोली र एक थान तथा सो समयमा प्रयोग भएको कपडा र स्कुटरसमेत बरामद गरिएको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
उनीहरुले गत पुस २१ गते काठमाडौँ महानगरपालिका–२५ मासन गल्लीस्थित एक होलसेल पसलमा पनि पेस्तोल देखाई दुई तोलाको सुनको सिक्री, नगद रु चार लाख, मोबाइल र सिसीटिभीसमेत लुटेको अनुसन्धानका क्रममा खुलेको छ । निजमाथि थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।