बैशाख २५, २०८३ शुक्रबार

कास्की, २५ वैशाख : पोखराका उद्योगपति तथा समाजसेवी हरि पाण्डे तथा उहाँका धर्मपत्नी तुलसा पाण्डेले वैवाहिक जीवनको ५९औँ वर्षगाँठका अवसरमा बिहीबार पोखराको मानव सेवा आश्रमका लागि रु ५४ लाख ४४ हजार ४४२ सहयोग गर्नुभएको छ ।

पोखरा महानगरपालिका–८ सृजनाचोक निवासी पाण्डे दम्पतीले आफ्नो वैैवाहिक वर्षगाँठलाई मानवसेवा र धर्मकार्यमा समर्पित गर्दै मानवसेवा आश्रमद्वारा यहाँ जारी श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ २०८३ मा सो सहयोग गर्नुभएको महायज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिनुभयो ।

मानवसेवा आश्रम पोखरा–हेम्जाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण सम्पन्नता, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिको महान उद्देश्यसहित यही वैशाख १९ गतेदेखि महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा पाण्डे दम्पतीले आजीवन वार्षिक भोजनसेवा ग्रहण गर्दै १८ दिनको वार्षिक भोजन सेवा सदस्यताका लागि रु १८ लाख ८८ हजार ८८७ सहयोग गर्नुभएको हो । यसैगरी मुक्तिनाथ सेवा धर्मशाला निर्माणअन्तर्गत पाँच कोठा निर्माणका लागि रु ३५ लाख ५५ हजार ५५५ सहयोग गर्नुभएको गर्नुभएको यज्ञ मूल आयोजक समितिले जनाएको छ ।

“वैवाहिक वर्षगाँठजस्तो विशेष अवसरलाई व्यक्तिगत उत्सवमा सीमित नराखी मानवताको सेवामा समर्पित गर्दै गरिएको सहयोगलाई महायज्ञकै प्रेरणादायी योगदानका रूपमा लिएका छौैँ । पाण्डे दम्पतीको उदार सहयोगले आश्रमको सेवा विस्तार, पूर्वाधार विकास तथा दिगो मानवीय सेवामा महत्त्वपूर्ण टेवा पुगेको छ”, मूल आयोजक समितिका संयोजक शाहीले भन्नुभयो । 

पाण्डे दम्पतीले यसअघि पनि २०७९ साल माघ २० गतेदेखि २७ गतेसम्म सम्पन्न श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञमार्फत भवन निर्माण सम्पन्नताका लागि रु ३० लाख ६६ हजार ६६६ सहयोग प्रदान गर्नुभएको थियो । मानव सेवा आश्रमले पाण्डे दम्पतीको योगदान समाजका लागि प्रेरणाको स्रोत बन्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको जनाएको छ ।
 
आश्रमका अनुसार महायज्ञमार्फत करिब रु चार करोड सङ्कलन गर्ने लक्ष्य राखिएको छ । सङ्कलित रकम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण र अक्षयकोष वृद्धि गर्न खर्च गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । उहाँका अनुसार करिब रु १२ करोड लागत अनुमान गरिएको भवन निर्माण हालसम्म ६० प्रतिशत सकिएको छ ।

आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण र पुनःस्थापनाको काम गर्दै आएको छ । हाल देशका २३ जिल्लामा ३४ सेवा केन्द्रमार्फत करिब दुई हजार २०० जनालाई सेवा प्रदान गरेको छ । पोखराका दुई केन्द्रमा मात्र करिब ३०० आश्रित रहेका छन् ।