काठमाडौँ, २५ वैशाख : युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग तथा सहकार्य गर्ने चासो देखाएको छ । इयूका राजदूत भेरोनिक लोरेन्जोले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग भेट गरी नेपालको नयाँ सरकारको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताउनुभयो ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचारविमर्श भएको थियो ।
भेटमा शिक्षामन्त्री पोखरेलले इयूले नेपालको विद्यालय शिक्षा क्षेत्र खासगरी समतामूलक पहुँच, गुणस्तर र शिक्षक पेसागत विकास प्रणाली सुदृढीकरण क्षेत्रमा गरेको सहयोगको सराहना गर्नुभयो । उहाँले विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकासलगायत क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
राजदूत लोरेन्जोले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताउनुभएको थियो । राजदूत रोरेन्जोले नेपाल–इयू सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।