असोज २४, २०७८ आइतबार

महेश सिंह/सिरहा/ २४ असोज - सिरहाको लहान नगरपालिका वडा नम्बर - २० गोर्छारी टोलको सडक सुधारको योजनामा अनियमितता भइरहेको स्थानीयको आरोप छ । नगरपालिकाको नगरस्तरीय कार्यक्रमबाट सञ्चालित (रामटोलदेखि भौसी महतोको पोखरीसम्म) को उक्त योजनामा व्यापक अनियमितता भइरहेको स्थानीयहरूको भनाइ छ । 

लहान नगरपालिकाद्वारा आर्थिक वर्ष २०७७/०७८को असार मसान्तमै काम सम्पन्न हुनेगरी भएको  सम्झौताको काम हालसम्म पनि सञ्चालनमै रहेकाले अनियमितताको सङ्केत गरिएको स्थानीय उदयकुमार सिंहले बताए ।

पत्रकार सम्मेलन गरी उनले भने - "हामीले नगरपालिकालगायत उपभोक्ता समितिलाई पटक पटक योजनाको सम्झौता कागजात र बजेट इस्टिमेट माग गर्दा पनि कुनै निकायले उक्त कागजात उपलब्ध गराएन ।"

"आयोजना स्थलमा बजेट पारदर्शी हुने खालका सार्वजनिक सूचना बोर्ड छैन, राख्न आग्रह गरे पनि समितिले वास्ता गरेको छैन" उनले बताए ।

पिसिसी ढलानमा प्रयोग गरिएको टुक्रा ईटा दुई नम्बरी प्रयोग गरिएको स्थानीय सुर्यदेव महतोले बताए। सडक सुधारका लागि गरिएको नाला निर्माण र पिसिसी ढलानमा  सिमेन्टको प्रयोग कम भएकाले आयोजनाको काम सम्पन्न नहुँदै ठाउँ-ठाउँमा सडक सुधारका लागि गरिएको पिसिसी ढलान भत्किरहेको उनको भनाइ छ ।

स्थलगत अनुगमन गर्न नगरपालिकाबाट ओभरसियर , ईन्जिनियरहरू कोही पनि नआउने गरेको स्थानीयले गुनासो गरे ।

योजनाको काम गर्न लहान नगरपालिकाले स्थानीय  उपभोक्ता समितिसँग सम्झौता गरेको छ । तर लहान नगरपालिका वडा नम्बर - ७ का एमाले पार्टीबाट प्रत्यासी वडा अध्यक्षका उमेदवार  (ठेकेदार ) समेत रहेका भगवान् साहले काम गरिरहेकाले सो सडक सुधार योजना झन् शंकास्पद  हेको स्थानीय भुल्लु मियाले बताए ।

करीब ५ सय मिटर लम्बाईको सडक कालोपत्रे गर्न ५३ लाख ३२ हजार २ रुपैया ८५ पैसामा उपभोक्ता समितिले नगरपालिकाबाट योजनाको सम्झौता गरेको छ ।
सो बजेटबाट सडको दायाँ बाया पिसिसी ढलान, नाला निर्माण, ठाउँ ठाउँमा ह्युमपाइप, चेम्बर, पिच सडकलगायतको काम हुने बुझिएको छ।

करीब आधा किलोमिटर सडक बिग्रेको स्थानीयले बताए। स्थानीयलाई आवतजावत गर्न समस्या भइरहेकाले समन साहुको पोखरीदेखि भौसी महतोको पोखरीसम्मको सडकलाई पनि मर्मतसम्भार गर्नुपर्ने स्थानीयको माग छ।

यता सो बिषयमा उपभोक्ता समिति अध्यक्ष सोनेलाल महतो  र लहान नगरपालिकाका प्रशासकीय अधिकृत खेमनन्दन भुसालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुन सकेन ।