कञ्चनपुर । प्रगति बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड १५ लाख ४५ रुपैयाँ ४३ पैसाको कारोवार गरेको छ । यस्तै संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा शेयर सङ्कलन, बचत सङ्कलन तथा ऋण लगानी कारोवारमा वृद्धि गरी कुल कारोवार ८ करोड पुर्याउने लक्ष्य लिएको छ ।
संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १० लाख १८ हजार ५ समय ७९ रुपैयाँ खुद नाफा कमाएको छ भने सोही वर्ष ५७ लाख ५ हजार ३ रुपैयाँ कुल शेयर पुँजी पुर्याएको छ । यस्तै संस्थाले २०७७/०७८मा ४ करोड ४ लाख ४४ हजार ५ सय ९५ रुपैयाँ २४ पैसा निक्षेप सङ्कलन गरेको छ । साथै विभिन्न कर्जा शीर्षकअन्तर्गत गरिएको कर्जा लगानीमा ४ करोड ४१ लाख १५ हजार २ सय ६९ रुपैयाँ पुगेको छ । संस्थाको आर्थिक विकाससँगै सञ्चालक समिति एवं व्यवस्थापन कार्ययोजना भावी कार्यक्रम तथा लक्ष्यहरू रहेका छन् ।
नगरपालिकाको वडा नं- १० झलारीमा रहेको प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आइतबार संस्थाका अध्यक्ष दिनेशसिंह महराको सभापतित्वमा झलारीको होटल रमाइलोमा कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०७७/०७८ को लेखा समितिको आन्तरिक लेखा परीक्षण प्रतिवेदन लेखा समिति संयोजक करनसिंह ठगुन्नाले प्रस्तुत गरेका थिए । यसैगरी सस्थाले उत्कृष्ट, ऋणी,उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्मचारी र जेष्ठ नागरिक शेयर सदस्यलाई प्रमाणपत्रसहित सम्मान गरेको छ । सम्मानित हुनेहरूमा उत्कृष्ट ऋणीतर्फ शुक्लाफाँटा ११ का करनसिंह विष्ट, उत्कृष्ट बचतकर्तातर्फ शुक्लाफाँटा १२ का यज्ञराज पन्त, उत्कृष्ट कर्मचारीतर्फ मञ्जू विष्ट ऐर र शुक्लाफाँटा ११ का ज्येष्ठ नागरिक दानबहादुर दमाईलाई प्रमाणपत्रसहित दोसल्लाले सम्मान गरिएको हो ।
यस्तै कार्यक्रममा शुक्लाफाँटा ९ का वडाध्यक्ष रमेशबहादुर ऐरले विगत ४ वर्षदेखि निरन्तर सेवा प्रवाह गरिरहेको बताउँदै नगरभित्र रोजगारी सिर्जना गरेको जानकारी दिए । संस्थामा हाल ६ सय ९५ सदस्य रहेका छन् । यस्तै कार्यक्रमका प्रमुख अतिथि नेफस्कुन सञ्चालक तथा सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद जोशीले सहकारी संस्था सवैका साझा सम्पत्ति भएको बताए । यस्तै प्रमुख अतिथि जोशीले सहकारी र सेवामूलक संस्थाहरूलाई सुदूरपश्चिम सरकारले बेवास्ता गरेको बताए ।