कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आफ्ना कर्मचारी र शिक्षकको तलब खुवाउन नसकेपछि शिक्षक तथा कर्मचारीहरूको दशैं खल्लो भएको छ । नगरपालिकाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूले दशैंको चौथोदिनसम्म पनि तलब पाएनन् । फूलपातीबाट सार्वजनिक बिदा भएकाले अब उनीहरूले दशैंमा तलब भत्ता पाउने सम्भावना सकिएको छ ।
नगरपालिकामा करीब ३२ सरकारी विद्यालयमा तीन सय जति शिक्षक कार्यरत छन् । शिक्षकहरूले चौमासिक (चार महिनाको एकमुष्ट) तलब बुझ्छन् । दशैंका बेला एक महिनाको तलब बराबरको भत्ता पनि थपिन्छ । तर, बैंक खातामा पैसा नआएपछि शिक्षक तथा कर्मचारीहरू निराश छन् ।
जनप्रतिनिधिका कारण रोकियो तलब
शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधिहरूले समयमै वडाका योजनाको टुङ्गो लगाउन र रकम बाँडफाँड गर्न नसक्दा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट बजेट निकासा गर्न सकियन तर काम गर्दागर्दै समयमा तलब खुवाउन नसक्नुको कारण ‘समय अभाव’ भने पनि वास्तविक कारण जनप्रतिनिधिबीचको लफडा भएको कर्मचारीहरू बताउँछन् ।
बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच विवाद हुँदा रातो किताब प्रकाशनमा ढिलाइ भएकाले तलब निकासामा पनि ढिलाइ भएको हो । जसको मारमा शिक्षक र कर्मचारी परे । शुक्लाफाँटा नगरपालिकाको बजेट ९ असारमा प्रस्तुत भएको थियो । तर रातो किताब अहिले असोजसम्म पनि प्रकाशित भएको छैन । रातो किताब कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) मा पेश भएपछि मात्रै बजेट निकासा गरिने कानुनी प्रावधान रहेको छ ।
नगरपालिकामा ८३ जना स्थाई कर्मचारी, करारमा १४२ जना र अस्थाई १ जना गरेर २२६ जना कार्यरत छन् ।
संघीय सरकारबाट तलब खाने आधारभूत तह, माध्यमिक तह र बालविकासका शिक्षक/शिक्षिका गरेर ३०० जना, निजीस्रोत ८४ जना, लेखापाल, १३ र बालविकास ६५ जना गरेर ४६२ जना कार्यरत छन् । नगरपालिकाले तलब खुवाउन नसक्दा जम्मा ६ सय ८८ कर्मचारीले दशैँको मुखैमा तलब नपाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत भन्छन् - दशैंलगत्तै सबैलाई तलब खुवाउँछौँ
अन्तिम समयसम्म रातो किताब पेश नगरिएकाले बजेट निकासामा पनि ढिलाइ भयो, त्यसैले शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूको खातामा तलब पठाउन नभ्याइएको नगरपालिकाको भनाइ छ । ‘तलब खुवाउने कोशिश गर्दागर्दै पनि सकिएन,’ प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले नेपालमार्गसँग भने, ‘दशैंलगत्तै सबैलाई तलब खुवाउँछौँ ।’
तलब निकासामा ढिलाइ भएको भन्दै शिक्षक संगठनद्वारा नगर प्रमुखको ध्यानाकर्षण
दशैँ पर्वको नजिक आइपुग्दा समेत शिक्षक कर्मचारीहरूको तलव निकासा नभएको भन्दै यथाशीघ्र तलव निकासा गर्न शुक्लाफाँटा नगरपालिकासमक्ष माग गरिएको छ । आइतबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरलाई ६ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाउँदै आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिक तलव भत्ता चाँडोभन्दा चाँडो निकासा गर्न माग गरेको हो ।
शिक्षक कर्मचारीहरूको मासिक तलब निजामती कर्मचारीजस्तै प्रत्येक महिना निकासा गर्ने व्यवस्था गरिनुपर्ने एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर कमिटी अध्यक्ष लोकेन्द्रबहादुर कुँवर र सचिव उत्तम वडद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा भनिएको छ ।