कञ्चनपुर, २९ वैशाखः शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क क्षयरोगी खोजपडताल गरिएको छ ।
आधुनिक प्रविधिको प्रयोगबाट समुदायमा लुकेर बसेका क्षयरोगीको पहिचान गर्दै समयमै उपचारमा ल्याउने उद्देश्यले उच्च जोखिममा रहेका वडा नं १, ५ र ८ मा शिविर सञ्चालन गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार वडा नं ८ को पिताम्बर स्वास्थ्यचौकी, वडा नं ५ को आधारभूत स्वास्थ्य केन्द्र वन समिति र वडा नं १ को सहरी स्वास्थ्य केन्द्र बन्साहमा शिविर सञ्चालन गरिएको छ । चिकित्सकसहितको टोलीले एआई प्रविधियुक्त पोर्टेबल एक्सरे मेसिन प्रयोग गरेर क्षयरोगीको खोजपडताल गरेको उहाँले बताउनुभयो ।
शिविरमार्फत कूल ६८८ जनाको क्षयरोग परीक्षण गरिएको छ । परीक्षणका क्रममा शङ्कास्पद देखिएका ४२ जनालाई थप परीक्षणका लागि ‘जिन एक्सपर्ट’ परीक्षण गर्न महाकाली प्रादेशिक अस्पतालमा प्रेषण गरिएको छ । शाखा प्रमुख भट्टका अनुसार एआई प्रविधिमार्फत एक्स–रे विश्लेषण गर्दा सामान्य एक्स–रेमा सहजै नदेखिने सूक्ष्म जीवाणुसमेत तत्काल पहिचान गर्न सकिन्छ । “डिजिटल कम्प्युटर प्रणालीले एक्स–रे विश्लेषण गरेर सम्भावित क्षयरोगी छुट्याउँछ”, उहाँले भन्नुभयो, “यसले खकार परीक्षण गर्नुअघि नै जोखिममा रहेका बिरामी पहिचान गर्न सहयोग पु¥याउँछ ।”
उहाँका अनुसार प्रविधिमैत्री शिविरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ । शिविर सञ्चालनका लागि चिकित्सकसहित एआई पोर्टेबल एक्स–रे मेसिन महाकाली प्रादेशिक अस्पतालबाट उपलब्ध गराइएको हो ।
नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग समस्या अन्त्य गर्ने तथा सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको छ । सो लक्ष्य हासिल गर्न एआई प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको स्वास्थ्य अधिकृत पदम महराले बताउनुभयो ।
“विशेषगरी छातीको एक्स–रे विश्लेषणमार्फत कम समयमै क्षयरोगी पहिचान गर्न एआई प्रविधि उपयोगी देखिएको छ”, उहाँले भन्नुभयो, “पोर्टेबल एक्स–रे मेसिन र एआई सफ्टवेयर प्रयोग गरेर दुर्गम गाउँमा समेत शिविर सञ्चालन गर्न सकिन्छ, त्यसैले यो सेवालाई नगरपालिकाका १२ वटै वडामा विस्तार गर्ने लक्ष्य राखेका छौँ ।”
उहाँका अनुसार एआईले केही मिनेटमै एक्स–रे विश्लेषण गरेर शङ्कास्पद बिरामी पहिचान गर्न सक्छ । यसले स्वास्थ्यकर्मीको कार्यबोझ कम गर्नुका साथै समयमै परीक्षण र उपचार प्रक्रिया अघि बढाउन मद्दत पु¥याइरहेको छ ।
उहाँका अनुसार एआई प्रविधिको प्रयोगले क्षयरोगको शीघ्र पहिचान, उपचार तथा रोगको फैलावट नियन्त्रणमा महत्वपूर्ण सहयोग पुगेको छ । विशेषगरी विशेषज्ञ चिकित्सकको पहुँच कम रहेका दुर्गम क्षेत्रमा यस्तो प्रविधि प्रभावकारी रहेको छ ।