गण्डकी, २९ वैशाख : पोखरामा सञ्चालित आयुर्वेद अस्पताल÷क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्वाध रूपमा बिक्रीवितरण भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा त्यस्ता औषधि छ्याप्छ्याप्ती भेटिएका हुन् ।
औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रेका औषधि बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । “अधिकांश अस्पताल र क्लिनिकमा गैरकानुनी औषधि बिक्रीवितरण भइरहेको पाइएको छ”, उहाँले भन्नुभयो, “आयुर्वेद उपचारका नाममा विकृति मौलाउँदै गएपछि अनुगमनमा कडाइ गरिएको हो, गलत गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ ।”
अनुगमनका क्रममा तोकिएको मापदण्ड पूरा नगरेका, दर्ता नवीकरण नभएका, दररेट नराखेका, चिकित्सक र स्वास्थ्यकर्मीलाई नियुक्तिपत्र नदिई काममा लगाएका अस्पताल तथा क्लिनिकलाई आवश्यक कागजपत्रसहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको सहायक प्रजिअ बरालले बताउनुभयो ।
सञ्चालन अनुमतिपत्र नदेखिएपछि फेमिली आयुर्वेदिक क्लिनिकलाई बन्द गराई आवश्यक प्रक्रिया पूरा गरी अनुमतिपत्र लिन सचेत गराइएको उहाँको भनाइ छ । अनुगमन टोलीमा रहनुभएका गण्डकी आयुर्वेद अस्पतालका चिकित्सक विपिनबन्धु आचार्यले औषधि व्यवस्था विभागबाट अनुमति नलिई उत्पादन गरिएका कुनै पनि औषधि बेच्न नपाइने बताउनुभयो ।
“कानुनी मान्यता नपाएका र गुणस्तरहीन आयुर्वेद औषधि बजारमा भित्रने गरेको छ, औषधि किन्ने बेलामा अस्पताल स्वयं सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो, “औषधि व्यवस्था विभागमा दर्ता छ/छैन निश्चित गरेरमात्र औषधि खरिद गर्नुपर्छ ।” क्लिनिक र फार्मेसीहरूमा आयुर्वेद विषयको ज्ञान नै नभएका व्यक्तिले औषधि बिक्री गर्ने गरेकोसमेत पाइएको चिकित्सक आचार्यले बताउनुभयो ।
पोखरामा हेल्दी होम्सका कविराज अस्मिना बञ्जराले अनुमति नलिई आयुर्वेद औषधि उत्पादन र बिक्रीवितरण गर्ने कम्पनीलाई राज्यले कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । “कतिपय कम्पनीले औषधि व्यवस्था विभागमा दर्ता छ भनेर झक्याउन सक्छन्, अबदेखि अस्पताल र क्लिनिकहरू यसमा सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।
धेरैजसो आयुर्वेद अस्पताल र क्लिनिक पोखरा–१० बुद्धचोक, अमरसिंहचोकलगायत क्षेत्रमा सञ्चालित छन् । अस्पताल भनेर सञ्चालन गरे पनि कतिपयमा अस्पतालको न्यूनतम पूर्वाधार पनि नरहेको पाइएको अनुगमनमा सहभागी उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेल ‘अथक’ले बताउनुभयो ।
अनुगमनलाई थप कडाइ गर्दै दोषी भेटिएका जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ । यस्तै मापदण्डविपरीत अनावश्यक रूपमा होर्डिङ बोर्ड राखेका क्लिनिकलाई त्यस्ता बोर्ड तत्काल हटाउन भनिएको जिल्ला प्रशाससन कार्यालयले जनाएको छ ।
बुद्धचोकको नेचर केयर आयुर्वेद अस्पताल, साधना आयुर्वेद क्लिनिक, आरोग्य होमियो फार्मेसी, आरोग्य होमियोप्याथिक अस्पताल, पञ्चम आयुर्वेद, पोखरा हेल्दी होम्स, रश्मी आयुर्वेद क्लिनिक र फेमिली आयुर्वेदिक क्लिनिकको अनुगमन गरिएको थियो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, गण्डकी आयुर्वेद अस्पताल, प्रोदशिक जनस्वास्थ्य केन्द्र, वडा प्रहरी कार्यालय बैदाम, उपभोक्ता मञ्चका प्रतिनिधिलगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।