काठमाडौँ, २९ वैशाखः प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू अशोक चौधरी, सुशील खड्का, युवराज दुलाल, डा कृष्णहरि बुढाथोकी, खुश्बु ओली, समीक्षा बास्कोटा, गणेश कार्की, लिमा अधिकारी (आचार्य), नितिमा भण्डारी कार्की, डा तोसिमा कार्की र सुलभ खरेलले भाग लिई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
सांसदले उठाउनुभएका विषयका बारेमा बोल्नुहुँदै अर्थमन्त्री वाग्लेले वैकल्पिक स्रोतबाट विकास, भौतिक पूर्वाधारका आशा पूरा गर्न विधेयक ल्याइएको बताउनुभयो । सबै आयाम समेटेर प्रतिफल बढाउन विधेयकले सहयोग गर्ने ल्याइएको उहाँले बताउनुभयो । सुशासनप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेकाले संस्थागत गर्न पनि विधेयकले सहयोग गर्ने अर्थमन्त्री वाग्लेको भनाइ थियो ।