असोज २५, २०७८ सोमबार

कञ्चनपुर । दशैँको मुखैमा तलब नपाएको भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनले तालाबन्दी गरेको छ । नगरपालिकाले शिक्षकको तलब निकासा नगरेपछि शिक्षकहरूले सोमबार शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

आइतबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरलाई ६ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाउँदै आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिक तलव भत्ता चाँडोभन्दा चाँडो निकासा गर्न माग गरेको थियो ।

अन्तिम समयसम्म रातो किताब पेश नगरिएकाले बजेट निकासामा ढिलाइ हुँदा शिक्षक र कर्मचारीको खातामा तलब पठाउन नभ्याइएको नगरपालिकाको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले दशैंलगत्तै सबैलाई तलब खुवाउने बताएका छन् ।

नगरपालिकामा ८३ जना स्थाई कर्मचारी, करारमा १४२ जना र अस्थाई १ जना गरेर २२६ जना कार्यरत छन् ।

संघीय सरकारबाट तलब खाने आधारभूत तह, माध्यमिक तह र बालविकासका शिक्षक/शिक्षिका गरेर ३०० जना, निजीस्रोत ८४ जना, लेखापाल, १३ र बालविकास ६५ जना गरेर ४६२ जना कार्यरत छन् । नगरपालिकाले तलब खुवाउन नसक्दा जम्मा ६ सय ८८ कर्मचारीले दशैँको मुखैमा तलब नपाएका हुन् ।