बैशाख ३०, २०८३ बुधबार

काठमाडौँ, ३० वैशाख : सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ ।

    नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले आज विज्ञप्ति जारी गरी सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा र मकालु हिमालमा पाँच आरोही तथा गाइडको मृत्यु भएको जानकारी दिनुभएको छ ।

    विभागका अनुसार यही वैशाख २० गतेदेखि हालसम्म पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन नेपाली र दुई विदेशी छन् । सगरमाथा क्षेत्रमा निधन हुनेमा सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पा, विजय घिमिरे र फुर गेल्जेन शेर्पा रहनुभएको छ । लाक्पा सेभेन समिट, घिमिरे ट्याग नेपाल, फुर गेल्जेन काइटु एक्सपिडिसनमा आबद्ध हुनुहुन्थ्यो ।

    यस्तै, चेक रिपब्लिकका आरोही डेभिड रुभिनेक र अमेरिकी नागरिक जोहानेसेन शेलीको पनि मृत्यु भएको छ । आइएएम ट्रेकिङ कम्पनीमार्फत गएका डेभिडको मकालु दुई र सेभेन समिटमार्फत गएका जोहानेसेनको मकालुमा निधन भएको विभागले जनाएको छ ।