एजेन्सी । रुसको राजधानी मस्कोको विश्व चर्चित बोल्शोई थिएटरमा भएको दुर्घटनामा एक अभिनेताको मृत्यु भएको छ । अभिनेताको मृत्यु ‘ओपेरा साडको’ को प्रस्तुतीका क्रममा स्टेजमा नै भयो । रिपोर्टका अनुसार बोल्शोई थिएटरमा प्रदर्शन गरिरहेका ३७ वर्षीय अभिनेता येवगेनी कुलेश स्टेजमा नै भयानक दुर्घटनाको शिकार भए ।
सेटमा सीन परिवर्तन गर्ने बेला कुलेश एउटा निकै ठूलो प्रपको मुनी दबिए । जसका कारण उनको दुर्घटनास्थलमा नै मृत्यु भयो । यद्यपि, स्टेजमा प्रप खसेपछि र हलचल बढेको देखेर दर्शकलाई यो पनि प्रस्तुती (मञ्चन) कै हिस्सा भएको भन्ने लाग्यो । दर्शकलाई यो कुनै स्टन्टको हिस्सा भएको जस्तो लाग्यो । तर केही समयपछि नै मानिसहरू चिच्याउन सुरु गरे र प्रप मुनी परेका अभिनेता येवगेनी कुलेशको स्टेजमा नै मृत्यु भयो ।
शनिबार भएको यो दुर्घटनाका केही क्लिप्स सोसल मिडियामा सार्वजनिक भएका छन् ।
यस्तै मस्कोको अनुसन्धान समितिले आफूहरूले अभिनेताको मृत्युबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।