बैशाख ३१, २०८३ बिहिबार

बन्दीपुर (तनहुँ), ३१ वैशाखः तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।

    लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले बुधबार अस्पताललाई अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने आधुनिक मेसिनहरू उपलब्ध गराएका हुन् ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब रु २० लाख मूल्यका दुईवटा मेसिन सहयोग गरेको हो । जसमा क्लिया मेसिन र पिटी÷आइएनआर मेसिन रहेका छन् ।

    क्लिया मेसिनमार्फत थाइराइड, भिटामिन डी, भिटामिन बी–१२, पाठेघरको क्यान्सर (सिए १२५), प्रोस्टेटको क्यान्सर (पिएसए) लगायत विभिन्न प्रकारका हर्मोनजन्य समस्या परीक्षण गर्न सकिने डा गिरीले जानकारी दिनुभयो । 

    त्यसैगरी, पिटी÷आइएनआर मेसिनले रगत जम्नेसम्बन्धी र मुटुरोगी तथा सर्प वा अरिङ्गालले टोकेका बिरामीको परीक्षणमा समेत क्लिया मेसिन उपयोगी हुने बताइएको छ ।

    त्यसैगरी, भरतपुर चितवनस्थित लोयल ट्रेडर्सले करिब रु २० लाख मूल्यका उपकरण उपलब्ध गराएको छ । जसअन्तर्गत पूर्ण रुपमा स्वचालित जैविक रसायन (बायोकेमेस्ट्री) परीक्षण मेसिन र   ‘हेमाटोलोजी एनालाइजर’ मेसिन रहेको अस्पतालले जनाएको छ ।

    बायोकेमेस्ट्री मेसिनमार्फत कलेजो, मिर्गौला, युरिक एसिड, एमाइलेज, लाइपेजलगायतका  परीक्षण गरिन्छ । 

    यसैगरी, ‘सिविसी एनालाइजर’ले शरीरमा रगतको मात्रा तथा रगतभित्र रहेका विभिन्न ‘सेल’हरूको विस्तृत परीक्षण गरी रोगको पहिचान गरिने सुपरिटेन्डेन्ट डा गिरीले जानकारी दिनुभयो ।
 
    लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दीपक बस्नेतले अब बन्दीपुर क्षेत्रका नागरिकले सामान्यदेखि विशेष स्वास्थ्य परीक्षणका लागि पोखरा, चितवन वा काठमाडौँ धाउन नपर्ने बताउनुभयो । उहाँका अनुसार अत्याधुनिक उपकरण जडानसँगै अधिकांश परीक्षण सेवा अब बन्दीपुरमै उपलब्ध हुनेछ ।

    त्यस्तै, गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उपकरण सहयोगले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्ने बताउनुभयो । उहाँले बन्दीपुरसहित तनहुँका भानु, व्यास, आँबुखैरेनी पालिका, गोरखा र लमजुङका नागरिकले समेत स्वास्थ्य सेवा लिनसक्ने बताउनुभयो ।

    बन्दीपुर अस्पतालमा पछिल्लो एक वर्षमा २४ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य सेवा लिएका छन् । हरेक दिन बिहान ७ः०० देखि बेलुकी ८ः०० बजेसम्म सञ्चालन भइरहेको विस्तारित बहिरङ्ग (ओपिडी) सेवाका कारण बिरामीलाई उपचारमा थप सहज भएको अस्पतालले स्पष्ट गरेको छ ।

    हाल १५ शय्या क्षमतामा सञ्चालन भइरहेको अस्पतालमा आँखा, प्रसूति, दाँत, प्रयोगशाला, ‘फार्मेसी’लगायत सेवा प्रवाह हुँदै आएको छ । विसं २०२२ साल स्थापना भएको बन्दीपर अस्पतालको निर्माणाधीन नयाँ भवन तयार भएसँगै सेवा विविधीकरण गरी गुणस्तरीय सेवा प्रवाह गर्न अस्पताल प्रतिबद्ध रहेको सुपरिटेन्डेन्ट डा गिरीले जानकारी दिनुभयो ।