काठमाडौं, असोज २६ । दशैंको सातौं दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमानढोकास्थित दशैंघरमा भित्र्याइएको छ ।
मंगलबार बिहान ८ः२५ को साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती अपराह्न साढे ४ बजे बाजागाजासहित दशैँघरमा भित्र्याइएको हो ।
अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दशैंघरमा भित्र्याइएको हो ।
नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको ।
राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन शुरु भएको बताइन्छ ।