सिरहा, ५ जेठ : यहाँको लहान नगरपालिका–१५ लाग्राहमा गत वैशाख ३० गते विद्युत् सर्ट भएर भएको आगलागीमा घर पूर्ण रूपमा नष्ट भएका मदन थापामगरको परिवारलाई लहान नगरपालिकाले राहत तथा अस्थायी आवासको व्यवस्था गरेको छ ।
नगर प्रहरी र वडा कार्यालयको सक्रियतामा पीडितपरिवारका लागि आज अस्थायी टेन्टहाउस निर्माण गरिएको हो । आगलागीपछि बिचल्लीमा परेको परिवारलाई सोमबार नै लहान नगरपालिकाले खाद्यान्नसहित राहत सामग्री वितरण गरेको जनाएको छ ।
आज पीडितपरिवारलाई भेट्दै नगरप्रमुख महेशप्रसाद चौधरीले दुई दिनभित्रै जस्तापातासहित नयाँ घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार घर निर्माणका लागि आवश्यक जस्तापाता घटनास्थलमा पुर्याइसकिएको छ । नगरप्रमुख चौधरीले भन्नुभयो, “हामीलाई घटनाबारे ढिला जानकारी भयो । थाहा पाउनेबित्तिकै नगरपालिकाबाट राहत सामग्रीसहित टोली पठाएका हौँ । दुःखको यस घडीमा अब ढिलाइ नगरी नगर प्रहरीको टोली परिचालन गरेर दुई दिनभित्र जस्तापातासहितको सुरक्षित घर निर्माण गरिनेछ ।”
वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले तत्काल बसोबासको समस्या समाधान गर्न नगर प्रहरीको सहयोगमा टेन्टहाउस व्यवस्थापन गरिएको जानकारी दिनुभयो । पीडित मदन थापामगरका अनुसार वैशाख ३० गते दिउँसो घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगलागीबाट ३५ हजार रूपैयाँ नगद, लत्ताकपडा, खाद्यान्न तथा घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । साथै घरअगाडि रहेका दुईवटा आँपका बोटसमेत आगोले क्षति पुगेको छ ।
---