धुलिखेल (काभ्रेपलाञ्चोक), ५ जेठः काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।
यसअघिको दुई आवमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकामा पालिकाले यो तेस्रोपटक शून्य बेरुजु बनाउन सफल भएको हो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सङ्घीय, प्रदेश र स्थानीय सरकारले बनाएको ऐन, कानुन र गाउँसभाले पारित गरेको बजेटलाई कार्यान्वयन गर्दै आउने क्रममा पालिकालाई शून्य बेरुजु बनाउन सफल भएको बताउनुभयो ।
बजेटको उचित कार्यान्वयनसँगै चन्दा, सहयोग नगरेको र सञ्चालन खर्चलाई घटाएर पुँजीगत खर्चलाई बढाउने कुरामा ध्यान दिएर जनप्रतिनिधि एवं कर्मचारीले सामूहिक रूपमा गरेको प्रतिबद्धताअनुसार नियम र कानुनको परिधिमा रहेर काम गरेका कारण निरन्तर रूपमा शून्य बेरुजु पालिका बनाउन सफल भएको उहाँको भनाइ छ । गाउँपालिकाले लगातार तेस्रोपटक ‘शून्य बेरुजु’ कायम गर्न सफल भई देशभरका स्थानीय तहका लागि उदाहरणीय सन्देश दिन सफल भएको छ ।
सार्वजनिक प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको १३ वटा स्थानीय तहमध्ये नगरपालिकातर्फ मण्डनदेउपुर सबैभन्दा कम ०.०५ प्रतिशत अर्थात् कुल लेखापरीक्षण रकमको १० लाख ४९ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै गाउँपालिकातर्फ चौँरीदेउराली ०.१८ प्रतिशत रहेको छ ।
जिल्लाका पनौती नगरपालिका ३.०४ प्रतिशत, नमोबुद्ध १.३८, धुलिखेल ०.६८, बनेपा ०.७१, पाँचखाल ०.१, बेथानचोक गाउँपालिका ०.५५, तेमाल ०.५, खानीखोला ०.५८, रोशी ०.६२ र भुम्लु गाउँपालिका ०.६८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।