असोज २७, २०७८ बुधबार

नेपालमा सबैभन्दा धेरै मानिसले मनाउने चाड हो दशैं। यसको धार्मिक तथा ऐतिहासिक महत्त्व भिन्नै छँदै छ। दशैं नमनाउनेहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दशैंसँग जोडिएका हुन्छन्। जसरी तपाईं जोडिनुभएको छ।

तपाईंलाई दशैं आएको कुरा कसरी थाहा हुन्छ? हुनत हरेक वर्ष आउने चाड हो। तै पनि अब चाहिँ नजिकै आयो है भन्ने कुरा कसरी थाहा हुन्छ? पात्रो हेरिन्छ‚ दिन गनिन्छ त्यही पनि अब चाहिँ दशैं साँच्चिकै आएछ है भन्ने महसुस कसरी हुन्छ?

जब शुभबिहानी भन्दै सेतो कुहिरो आउँछ, आधा बाहुले कपडा लगाउँदा चिसो चिसो हुन्छ‚ चरक्क पोल्ने घाम न्यानो हुँदै जान्छ, खेतमा धानका बाला लहलहाउँछन् अनि बारीमा कोदो फुल्छ दशैं आए जस्तो हुन्छ। अनि यतिवेला बहने हावाले पनि त यो सुगन्ध बोकेर डुल्छ।

दशैं आएको महसुस गराउने अर्को कुरा संगीत पनि हो। दशैंमा सबैभन्दा बढी बज्ने संगीत अर्थात् मालश्री धुन। टिभी, रेडियोमा त मालश्री धुन सुनिन्छ नै दशैंका वेला रूखका पातले पनि यही धुन गुनगुनाए जस्तो लाग्दैन?

हरेक वर्ष आउने दशैंका लागि हरेक वर्ष नयाँ नयाँ गीत पनि बजारमा आउँछन्। यो वर्ष पनि धेरै गीत निस्किए। केही यस्ता गीत छन् जो हरेक वर्ष दशैंमा बज्छन् अनि हामीलाई कति धेरै बजेको जस्तो पनि लाग्दैन। बरु यी गीत बजेपछि साँच्चिकै दशैं आएछ भन्ने महसुस हुन्छ।

यहाँ केही गीतबारे बताइएको छ जुन गीत हरेक वर्ष उत्तिकै ताजा लाग्छन्।

दशैंतिहार सुगम पोखरेल

रवि श्रेष्ठको शब्द तथा सुगम पोखरेलको स्वर तथा संगीत रहेको गीत दशैं तथा तिहार हरेक वर्ष उत्तिकै सुनिन्छ। दशैं तथा तिहारजस्ता चाडले लिएर आउने उत्साह तथा उमंग यो गीतमा सुन्न सकिन्छ। गीतमा दशैं आयो भनेर रमाउनेहरूको मात्र कथा छैन। रोजगारीका क्रममा विदेशिएका र चाडवाडमा घर आउने नपाउनेहरूको व्यथा पनि छ।

मात्र चार मिनेटको यो गीत दशैं र तिहारको पर्यायवाची जस्तै बनेको छ। यो गीत सुन्दै गर्दा तपाईंका आँखा रसाउन सक्छन् तर तपाईंका आँखाबाट खसेका आँसु खुशीका हुन् कि दुःखका भन्ने कुरा थाहा नपाउन पनि सक्नुहुन्छ।

हरेक वर्ष दशैं नजिकिने बित्तिकै युट्युबमा रहेको यो गीतमा कमेन्ट बढ्न थाल्छ। यो वर्ष पनि धेरै ठाउँमा यो गीत बजिरहेको छ। ठिक यतिबेला पनि कतै न कतै बज्दै हुन सक्छ। एकैछिनमा त तपाईं बजाइ हाल्नुहुन्छ।

फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार

झण्डै दश वर्ष पुरानो यो गीत रेडियो तथा टेलिभिजनमा आज पनि उत्तिकै बज्छ। सशस्त्र प्रहरी बलले निर्माण गरेको यो गीतमा दशैंतिहारमा घर जान नपाउने प्रहरी‚ सशस्त्र प्रहरी र सैनिकको कथा देखाइएको छ।

जगदीश समालको स्वर तथा गैरे सुरेशको संगीत रहेको गीतलाई दीपक कोइरालाले लेखेका हुन्। गीतमा फौजीका लागि कर्तव्य नै दशैंतिहार हो भनिएको छ। गीतको भिडियोमा पनि दशैंमा घर जान नपाएका फौजीहरू आपसमा रमाइलो गरेर दशैं मनाएको देखाइएको छ।

चरर बरर धरर

श्रीमान्‌ले आफ्नी श्रीमतीलाई फोन गरेर एउटा नम्बर टिप्न भन्छन्। श्रीमतीले केको नम्बर हो भनेर सोध्छिन्। श्रीमान् भन्छन्‚ ‘थोरै पैसा पठाइदिएको छु, त्यसैको नम्बर हो।’ श्रीमती भन्छिन्‚ ‘किन दशैंमा घर आउने होइन र’ श्रीमान् अलि अनकनाउँदै भन्छन्‚ ‘अँ।‚ छुट्टी नै पाइनँ, त्यही भएर त अलिकति पैसा पठाइदेको दशैं खर्च।’ श्रीमती झर्किन्छिन्‚ ‘पैसाले मात्रै हुन्छ र? ’ श्रीमान पनि झर्किन्छन्‚ ‘छुट्टी पाउनु परेन?’ श्रीमती रुन्छिन्‚ ‘चाहिँदैन पैसा सैसा।’ श्रीमान् चर्कै स्वरमा आफ्नो अवस्था बुझाउन खोज्छन्, ‘भनेजस्तो हुन्छ र विदेशमारु ’ तर, त्यति वेलासम्म श्रीमतीले फोन काटिसकेकी हुन्छिन्। श्रीमान् हेलो हेलो भन्छन्।

चार वर्षअघि सार्वजनिक भएको प्रकाश सपुतको चरर बरर धरर बोलको गीतले विदेशमा भएका श्रीमान्‌हरू र यता घरमा उनीहरूको प्रतीक्षामा रहेका श्रीमतीहरूको कथा बोल्छ।

प्रकाश सपुत र सम्झना लामिछाने मगरको स्वरमा रहेको गीत प्रकाशले नै लेखेका हुन् भने संगीत पनि उनकै हो। यो गीत रोजगारीका लागि विदेशिनु परेका र उनीहरूका परिवारका सदस्यलाई आफ्नै गीत जस्तो लाग्न सक्छ। दशैं सबैका लागि उल्लासमय हुँदैन भन्ने कुरा पनि यो गीतले बताएको छ।

बाटो हेरे हुन्छ है घरमा

विदेशमा भएका श्रीमान्‌को चिठी आउँछ लेखिएको हुन्छ बाटो हेरे हुन्छ है घरमा यसपालिको दशैं र तिहारमा।।। अनि श्रीमतीले यतैबाट भन्छिन्‚ ‘मेरो हजुर आउनुहोस् घरगाउँको माया मुटुमा बोकेर।’

लामो समय विदेशमा बसेर दशैंतिहार मान्ने गरी घर आउन लागेको परदेशी र उसलाई पर्खेर बसेको परिवारको खुशी यो गीतमा दर्शाइएको छ।

रेशम सापकोटाको शब्द तथा संगीत रहेको गीतमा रेशमसँगै प्रकाश क्षेत्री र विष्णु माझीको स्वर रहेको छ।

दशैं आयो

चरीररी ररी रै, चरीररी ररी रै चरीररी ररी ररी रै।।।‚ मुग्लान फिल्मको दशैं गीत नसुनी पनि दशैं आए जस्तो हुन्छ ररु पन्ध्र वर्षभन्दा अगाडिको यो गीत हरेक वर्ष सुनिन्छ।

यो गीतमा दशैंको बेलामा बनाइने पिङ, लगाइने टीका जमरादेखि यो समयमा हुने बालीको प्रसंग पनि जोडिएको छ। परदेशमा भएर दशैं मनाउन आउन नपाउनेहरूलाई पनि गीतमा सम्बोधन गरिएको छ।

यसको भिडियो पनि गीतसँग सुहाउँदो गरी बनाइएको छ। शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको फिल्म मुग्लानमा यसको विशेष स्थान छ।

लोकनाथ सापकोटाको शब्द‚ सुरेश अधिकारीको संगीत तथा उदितनारायण झा‚ दीपा नारायण‚ नारायण लामा र जुना प्रसाईंको स्वरमा रहेको गीत दशैं आयो हेर्दा‚ सुन्दा साँच्चिकै दशैं आए जस्तो लाग्छ।

यी बाहेक योगेश्वर अमात्यको दशैं नै हो कि यो मेरो दशा‚ कुल पोखरेलको यसपालि दशैंमा ठूलो दाइ आउने रे, नारायण रायमाझीको नमुछे आमा दहीमा टीका लगायतका गीत पनि हरेक दशैंमा बज्ने गर्छन्।