जेठ ६, २०८३ बुधबार

बागमती, ६ जेठः ‘हाम्रो आफ्नै भाषा थियो, आफ्नै संस्कृति थियो । तर जङ्गल छाडेर मानव बस्तीमा आएपछि ती सबै विस्तारै हराउन थाले ।” वनकरिया समुदायकी युवा अगुवा आरती वनकरियाको यो भनाइले एउटा समुदायको पीडा मात्र होइन, अस्तित्व जोगाउने सङ्घर्ष पनि सुनाउँछ ।

    कुनै समय चुरे क्षेत्रका जङ्गलमा फिरन्ते जीवन बिताउने वनकरिया समुदाय अहिले मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित एउटा सानो बस्तीमा बसोबास गरिरहेको छ । जङ्गलसँगै उहाँहरूको जीवनशैली फेरियो तर सबैभन्दा ठूलो असर उहाँहरूको भाषा र संस्कृतिमा प¥यो । नयाँ पुस्ताले मातृभाषा बोल्न छाड्दै गएपछि समुदायले आफ्नो पहिचान नै सङ्कटमा परेको महसुस गर्न थालेको छ । 

    लोपोन्मुख वनकरिया समुदाय आफैँ आफ्नो भाषा जोगाउने अभियानमा जुटेको छ । आरती वनकरिया र उहाँका साथीहरूले आफ्ना पुर्खाको भाषा, संस्कृति र इतिहासको अध्ययन सुरु गरेका छन् । उहाँहरूका अनुसार भाषा हराउनु भनेको समुदायको पहिचान हराउनु हो । “हाम्रा पूर्वजहरु जङ्गलमा बस्दा हाम्रो आफ्नो छुट्टै भाषा थियो तर जङ्गलबाट जब मानवबस्तीमा सरेपछि हाम्रो भाषा र संस्कृति नै लोप हुन थाल्यो”, वनकरिया भाषाबारे अध्ययन गर्नुभएका सोही बस्तीका अगुवा आरती वनकरियाले भन्नुभयो, “आफ्नो भाषा र संस्कृतिको संरक्षण हामीले नै गर्नुपर्छ भनेर अध्ययन सुरु गरेका छौँ ।” 

    वनकरिया समुदायको भाषा अध्ययनका लागि भाषा आयोगबाट पनि सहयोग भइरहेको छ । “वनकरिया समुदायको आफ्नै भाषा भए पनि मानवबस्तीमा सरेपछि हाम्रो समुदायका सबै वनकरिया भाषा बोल्न छाडिसक्नुभएको छ”, आरती वनकरियाले भन्नुभयो, “भाषा लोप हुदाँ पहिचान र संस्कृति नै हराउँदै जान्छ, त्यसैले हामी हाम्रो भाषाको अस्तित्व लोप हुन नदिन जुटेका छौंँ, भाषाको बारेमा अध्ययन गरिरहेका छौँ ।” भाषाको अध्ययनका लागि हाम्रो समुदायको उत्पतिदेखि अहिलेसम्मको अवस्था र हाम्रो भाषाका शब्दहरु सङ्कलन गरेर पाठ्यसामग्री प्रकाशनका लागि भाषा आयोगमा पठाएका छौँ, उहाँको कथन छ ।  

    कुनैबेला पर्साको मध्यवर्ती क्षेत्र चुरेघाँचमा फिरन्ते जातको रुपमा चिनिने लोपोन्मुख वनकरिया जातिलाई सरकारले २०६२ सालमा जङ्गली जीवनबाट मानव वस्तीमा सारेको थियो । जिल्ला वन कार्यालय मकवानपुरले कबुलियती वन समूहअन्तर्गत नौ हेक्टर क्षेत्रफलमा रहेको उक्त बस्तीमा २४ घरपरिवार वनकरिया समुदायको बसोबास छन् । त्यहीँ ठाउँमा ती जातिका व्यक्तिहरु करिब २० वर्षदेखि बन्दै आएका छन् । विसं २०७८ को जनगणनाअनुसार नेपालमा वनकरिया समुदायको जनसङ्ख्या केबल ज्ञ८० छ । त्यसमध्ये मातृभाषा बोल्नेको सङ्ख्या ८६ मात्र रहेको छ ।

    पहिले जङ्गलमा घुमन्ते जीवन बिताउने वनकरिया अहिले खेतीपाती, पशुपालन र मजदुरी गरेर जीवन चलाइरहेका छन् । परिवर्तनको अर्को सकारात्मक पाटो शिक्षा पनि बनेको छ । केही वर्षअघिसम्म विद्यालयको पहुँच बाहिर रहेको समुदायका बालबालिका अहिले विद्यालय जान थालेका छन् । समुदायका केही युवाले एसइई र कक्षा १२ समेत उत्तीर्ण गरेका छन् ।

    भाषा आयोगले पनि वनकरिया भाषाको संरक्षणमा सहयोग गरिरहेको छ । आयोगले समुदायका सदस्यको सहयोगमा शब्द सङ्कलन गरी प्रारम्भिक पाठ्यसामग्री तयार पारिसकेको जनाएको छ । “वनकरिया बस्तीको स्थलगत सर्वेक्षणपश्चात् आरती वनकरिया र सम्झना वनकरियाको सहयोगमा शब्द सङ्कलनको काम गरेका छौँ”, भाषा आयोगका उपसचिव गोविन्दप्रसाद पौडेल भन्नुहुन्छ, “सङ्कलन भएको शब्दबाट विज्ञहरुद्वारा प्रारम्भिक चरणको पाठ्यसामग्री तयार पारिसकेका छौँ, केही दिनभित्रै प्रकाशन गर्ने तयारी भएको छ ।” साथै, वनकरिया समुदायको पहिचान झल्किने वृत्तचित्र पनि निर्माण गरिएको उपसचिव पौडेलको भनाइ छ ।