कर्णाली, ६ जेठः काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर नगरपालिकाले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ ।
कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ सुर्खेत बस्ने अन्दाजी ४२ वर्षीया धमिला चौलागाईलाई नगर प्रहरीले काफल पोखाइदिँदै दुव्र्यवहार गरेको थियो । उक्त नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै जेठ ५ गते मङ्गलबार साँझ नगर प्रहरीद्वारा सडकपेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगरपालिका–६ स्थित सिटी बसपार्कमा डालामा काफल बेच्दै गरेकी चौलागाईमाथि भएको व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सो कार्यमा संलग्न नगरप्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता टङ्कप्रकाश लामिछानेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पीडित महिलालाई नगरप्रमुख मोहनमाया ढकालकै हातबाट क्षतिपूर्तिस्वरुपको रकम प्रदान गरिएको हो ।
नगरप्रहरीले मङ्गलबार साँझ सिटी बसपार्कमा काफल बेच्दै गरेको महिलाको डालो समातेर घोप्ट्याउँदा काफल भुइँमा छरपस्ट भएको र ती महिला रोइकराइ गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरप्रहरी र नगरपालिकाको सेवाबारे सर्वत्र आलोचना भएको थियो । त्यसलाई तत्काल सम्बोधन गरेपछि सबैले नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् ।