असोज २७, २०७८ बुधबार

बैतडी, असोज २७ । बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य जात्रा सम्पन्न भएको छ ।

फूलपातीदेखि सुरु भएको जात्रामा आज महाअष्टमीमा बलिसहित पूजाआजा गरी सम्पन्न भएको हो । यसका साथै मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा पनि बलिसहित जात्रा सम्पन्न भएको छ ।

दुवै स्थानमा रहेका भगवतीका मन्दिरमा २ हजारबढी राँगा र बोकाको बलि दिइएको प्रहरीले जनाएको छ । निङ्गलाशैनी मन्दिरमा ३ सय २८ राँगाको बलि चढाएको प्रहरी चौकी देहिमाण्डौंका प्रमुख केशव 
सिंह भण्डारीले जानकारी दिए ।

घटस्थापनादेखि महाअष्टमीका दिनसम्म १ हजार ५ सय बोकाको बलि चढाइएको छ ।

यस्तै मेलौली भगवती मन्दिरमा पनि आज महाअष्टमीमा बलिसहित जात्रा सम्पन्न भएको छ । मेलौलीमा ९५ राँगा र १ सय ४४ बोकाको बलि दिइएको जनाइएको छ ।

जात्रामा सुदूरपश्चिम प्रदेशका साथै भारतीय दर्शनार्थी समेत आएका थिए ।