झापा, ७ जेठः पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकडभिट्टास्थित देवकोटा पार्कमा पर्यटकीय आकर्षण थप्न ‘घण्टाघर’ को निर्माण सुरु गरिएको छ । रोटरी क्लब अफ काँकडभिट्टाको पहल, कोशी प्रदेश सरकार र भारतको पश्चिम बङ्गालस्थित रोटरी क्लब अफ सिलिगुडी उत्तरायणको आर्थिक साझेदारीमा यो परियोजना अघि बढाइएको हो ।
उपभोक्ता समितिमार्फत एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको घण्टाघरको नाम ‘रोटरी क्लब टावर’ राखिने सहमति भएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं रोटरी क्लब अफ काँकडभिट्टाका अध्यक्ष उदय श्रेष्ठका अनुसार यो घण्टाघर जमिनको सतहबाट ४० फिटभन्दा अग्लो हुनेछ । घण्टाघर निर्माणको कूल लागत करिब रु ३५ लाख अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठले रु १० लाख कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावण मन्त्रालयले प्रदान गर्ने सम्झौता भएको जनाउँदै बाँकी लागत खर्च रोटरी क्लब अफ काँकडभिट्टा र रोटरी क्लब अफ सिलिगुडी उत्तरायणले दामासाहीले व्यहोर्ने भएका बताउनुभयो ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले पर्यटकीय र सहरी सौन्दर्यीकरणका दृष्टिले घण्टाघरको अवधारणा महत्त्वपूर्ण रहेको बताउनुभयो । नगरपालिकाको स्वामित्वमा रहेको देवकोटा पार्कभित्र यो संरचना निर्माणका लागि नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
“नेपालको पूर्वी ढोकामा पर्यटकीय आकर्षण बढाउन यो घण्टाघर कोसेढुङ्गा सावित हुने हाम्रो अपेक्षा छ”, उपप्रमुख उप्रेतीले भन्नुभयो, “भारतीय रोटरी क्लबको समेत सहलगानी रहेकाले यसले नेपाल-भारतबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पु¥याउनेछ ।”
सतहबाट १८ वर्गफिट आकारमा निर्माण हुने यस घण्टाघरको पहिलो तलामा चढेर पर्यटकले दृश्यावलोकनका साथै सेल्फी र भिडियो खिच्न सक्ने गरी आधुनिक र सुविधा सम्पन्न संरचना बनाइने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
काँकडभिट्टाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको देवकोटा पार्कमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सालिक, रमणीय फूलबारी, बाल उद्यान, खानेपानी तथा शौचालयको सुविधा उपलब्ध छ । देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले अब बन्ने घण्टाघरले पार्कको आकर्षण थप बढाउने र सीमावर्ती क्षेत्र भएकाले भारतीय लगायत अन्य विदेशी पर्यटकको आगमनमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।