एजेन्सी । बङ्गलादेशमा बुधबार राति हिंसा भड्किँदा दुर्गा पूजास्थलमा तोडफोड भएको छ । तोडफोडका कारण कम्तीमा १५० अल्पसङ्ख्यक परिवारमाथि हमला भएको र तीन जनाको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
बङ्गलादेशको कोमिल्ला जिल्लामा एक पूजा स्थलमा कुरानको कथित अपमानको अफवाहपछि हिंसा भडकिएको हो । एक फेसबुक पोस्टका कारण उक्त हिंसा भएको बताइएको छ ।
हिंसा भड्किएपछि भारी सुरक्षाबल तैनाथ गरिएको छ । प्रहरीका अनुसार हिंसामा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीले थुप्रै हिन्दू मन्दिर, घरहरू र पसलहरूमा तोडफोड गर्ने १० जनालाई पक्राउ गरेको छ ।
सन् २०११ को जनगणनाअनुसार बङ्गलादेशमा १४ करोड ९० लाख जनसङ्ख्याको ८.५ प्रतिशत हिन्दू धर्मालम्बी रहेका छन् ।
कोमिल्ला जिल्लासहित अन्य थुप्रै जिल्लाहरूमा हिन्दू समुदायका मानिसको ठूलो सङ्ख्या रहेको छ । पश्चिम बंगालका थुप्रै संगठनहरूले भएको हिंसाको निन्दा गरेका छन् । विश्व हिन्दू परिषद्ले यस घटनाको गम्भीर रूपमा छानबिन गर्न माग गरेको छ ।