शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस वरपरका क्षेत्रमा रहेका सामुदायिक वनमा सानो खैरो गिद्धको बासस्थान रहेको फेला परेको छ ।
शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी अनुसन्धान टोलीले त्यहाँ दुई दिन विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान र त्यसको अवस्थाबारे अनुसन्धान गरेको हो ।
जर्मनका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जका नेचर गाइड यमनारायण महतोको टोलीले उक्त गिद्धको बासस्थान, आहारा र सङ्ख्याबारे अनुसन्धान गरी बिहीबार फर्किएको शुक्लाफाँटाका नेचर गाइड सुमन चौधरीले बताए।
विदेशी अनुसन्धानकर्ताको पाहुना टोली खयरकन्द्रा सामुदायिक घरवास (होमस्टे)मा दुई दिन बसेर निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनुसन्धान गरी फर्किएको छ ।
सुरुका दिनमै सानो खैरो गिद्ध देख्न पाएपछि उत्साहित भएका उनीहरूले यसको संरक्षणका लागि सम्बद्धपक्षले चासो दिनुपर्ने नेचर गाईड चौधरीले बताए।
उक्त टोलीले चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरलगायत नेपालको हिमाली क्षेत्र मध्यपोखरा र मुस्ताङसम्म पुगेर पनि अनुसन्धान गर्ने बताइएको छ। उक्त गिद्ध नेपाललगायत दक्षिणपूर्वी एशियामा पाइने गरेको छ। यस प्रजातिका गिद्ध ३५० मिटरदेखि एक हजार ५२५ मिटरसम्मको उचाइमा पाइने गर्दछ।