काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा फलफूल किन्न पुगेका उपभोक्ताहरूले फलफूलको मूल्य महङ्गो भएको गुनासो गरेका छन् ।
काठमाडौंको बानेश्वर, पुरानो बानेश्वरलगायत प्रमुख चोकहरूमा फलफूल किन्न पुगेका उपभोक्ताहरूले दसैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन् । उनीहरूको फलफूलको मूल्यमा एकरूपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेको गुनासो गरेका छन् । एक हप्ताअघि मात्र दुई सयमा किनेको स्याउको मूल्य २५० रुपैयाँ भन्दा बढी पुगेको उपभोक्ताहरूको गुनासो छ । सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ताहरू बताउँछन् ।
फलफूल व्यापारीहरूले भने चीनबाट फलफूल नआएकाले महङ्गो भएको बताएका छन् भने फलफूल बजार कुलेश्वरमा एउटै दरको बजार मूल्य नभइ दिँदा पनि समस्या आइरहेको बताएका छन् ।
व्यापारीहरूले नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने बताएका छन् ।