असोज २९, २०७८ शुक्रबार

ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बर्दिया, निवासी दिनेश चौधरीसहित ६ जना माउते एक महिनादेखी राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभर गाउँमा बसिरहेका छन्। दुई वटा घरपालुवा हात्ती उनीहरूका सारथी हुन्।

एक महिनाअघि गाभरमा पाटेबाघले मान्छे र स्थानीय बासिन्दाको पशु चौपाया धमाधम मार्न थालेपछि बाघको निगरानी बढाउन तथा गाउँको सुरक्षाका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले हात्तीसहित माउतेलाई छाडेको हो।

स्थानीय नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको चउरमा हात्ती र माउतेको बसोबास छ। बिहान १० बजे हात्तीलाई फुकाएर जङ्गलतिर लैजाने र अपराह्न साढे ४ बजेतिर फर्काएर पुनः बसिरहेकै ठाउँमा ल्याउने माउतेको दैनिकी हो। विद्यालयको सानो छाप्रामा बसिरहेका उनीहरूलाई दसैँको कुनै उमङ्ग नै छैन। मात्र, उनीहरूको ध्यान छ, ‘पाटेबाघको निगरानी’। बरु उनीहरू आफ्नो ज्यान भन्दा गाभरका स्थानीयहरूको सुरक्षामा चिन्तित छन्।

माउतेहरू हात्ती लिएर जाँदा जङ्गलमा प्रायः पाटेबाघहरू देख्छन् र जङ्गलमा बाघ देखेपछि माउतेले स्थानीय बासिन्दालाई जङ्गलतिर नजान आग्रह गर्छन्। केही दिनअघि मात्र बाघले घेरिएपछि रुखमा चढेका तीन जना स्थानीयलाई यिनै हात्तीको मद्धतले माउतेले बचाएका थिए।

हात्तीका माउतेहरू जता–जता बाघ देखिन्छ, त्यतैतिर हात्ती लिएर जाने गर्छन्। ‘सबैलाई आफ्नो ज्यानको माया हुन्छ, हात्ती बाघसँग डराउँछ, बाघ पनि हात्तीसँग डराउँछ,’ माउते दिनेशले नागरिकसँग भने, ‘हामीले बाघ देखियो भने कन्ट्रोल गर्छौँ, हात्तीलाई रोकेर बस्छौं अनि बाघलाई लखेट्दै पर धपाउँछौँ।’ यसपालीको दसैँ आफूहरूले हात्तीसँगै गाभरमा मनाउने उनले सुनाए। नागरिकले लेखेको छ ।