म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या लामो समयदेखि काठमाडौँको कपनस्थित लसुनटारमा क्याम्प बनाएर बसिरहेका छन् । कपनस्थित राम मन्दिरमा पनि रोहिङ्ग्याको क्याम्प छ ।
बूढानीलकण्ठ, कालिमाटी र बालाजुमा पनि रोहिङ्ग्याहरू अस्थायी टहरा बनाएर बसिरहेका छन् । कतिपय रोहिङ्ग्याहरू कालिमाटीलगायतका ठाउँमा डेरा लिएर बसेका छन् । नेपालमा बस्ने रोहिङ्ग्याहरूले आफ्नो नेतासमेत चुनेका छन् । कपनको क्याम्पमा बस्ने अबुल उस्मान उनीहरूका ‘टोली नेता’ हुन् । कपनस्थित क्याम्पमा भेटिएका अबुलका अनुसार नेपालमा ४१९ जना रोहिङ्ग्या शरणार्थी छन् ।
तर, नेपालमा कति रोहिङ्ग्या शरणार्थी छन् भन्नेबारे सकारसँग यकीन तथ्याङ्क छैन । खुल्ला सिमाना भएका कारण नेपालमा कति रोहिङ्ग्या आएर बसेका छन् भन्ने तथ्याङ्क नभएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्रमणि पोखरेल बताउँछन् ।