माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदै छ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् ।
भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । साफअन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १–० ले हराएको थियो ।
भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पूर्ण रूपमा हाबी छ । नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको फाइनल खेलमा गोर्खाली शैली अपनाउने बताएका छन्।
'हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,' कप्तान किरणले भने ।
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको हो । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।