जलेश्वर (महोत्तरी), १२ जेठः महोत्तरीको सदरमुकाम जलेश्वरमा आज नेपाली सेना र सशस्त्र प्रहरीले बाढीजन्य उद्धार कार्यको संयुक्त रुपमा पूर्वअभ्यास गरेका छन् । स्थानीय बासिन्दाको जीउधनको सुरक्षाका लागि सुरक्षाकर्मीको संयुक्त टोलीले पूर्वअभ्यास गरेका हुन् ।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले जलेश्वर नगरपालिका–१ मा अवस्थित बरुण सरोवर (पोखरी)मा उद्धारका विभिन्न पूर्वअभ्यासहरु गरेका हुन् । बाढीजन्य विपद्को बेला उद्धार कार्यमा प्रयोग हुने डुँगा, डोरी, ट्युब, लाइफ ज्याकेट, ह्याट, ड्रम र अन्य सहयोगी सामग्रीको प्रयोग गरेर सुरक्षाकर्मीले संयुक्त पूर्वअभ्यास गरेका थिए ।
सुरक्षाकर्मीहरुले गरेको संयुक्त उद्धार पूर्वअभ्यासको अवलोकन जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित चारै तहका सुरक्षा प्रमुख र सयौँको सङ्ख्यामा सर्वसाधारणको उपस्थिति थियो ।