जेठ १२, २०८३ मंगलबार

काठमाडौँ, १२ जेठः विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक करिब एक घण्टापछि पुनः सञ्चालन भएको हो ।
 
    बैठक प्रारम्भ हुनासाथ विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले यसअघिको बैठकमा रास्वपा सांसद जगदीश खरेल (ललितपुर)ले प्रयोग गर्नुभएको ‘तमासा देखाएको’ भन्ने शब्द असंसदीय भएकाले रेडर्कबाट हटाउन माग गर्नुभयो ।
 
    सभामुखसँग समय मागेर रास्वपा सांसद खरेलले आफूले प्रयोग गरेको ‘तमासा’भन्ने शब्द संसदीय मर्यादा विपरीत नरहेको स्पष्ट पार्नुभयो ।
 
    नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुखको आदेश विपरीत आफ्नो पार्टीका सांसद गीताकुमारी सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालिएको भन्दै नियमापत्ति गर्नुभयो ।
 
    सभामुख अर्यालले सांसद सेन्दाङले सभामुखको आसनतर्फ मोबाइलबाट फोटो र भिडियो खिचेको सम्बन्धमा जाँच गर्न मर्यादापालकलाई निर्देशन दिएको स्पष्ट पार्नुभयो । “उहाँ (सेन्दाङ) लाई बैठकबाट बाहिर निकालिएको होइन,” सभामुख अर्यालले भन्नुभयो ।