असोज ३०, २०७८ शनिबार

अमरगढी असोज ३० गते । डडेल्धुरामा रहेको ऐतिहाहिक अमरगढी किल्लामा निर्माण गरिएको कोतघर निर्माण गरेको एकवर्षमै जीर्ण बनेको छ ।
डडेल्धुरामा रहेको नेपाली सेनाको तत्कालीन रणबम गणले नागरिक–सैनिक सम्बन्ध कार्यक्रमअन्तर्गत २० लाख रुपिँयाको लागतमा कोतघर निर्माण गरी २०७७ कार्तिक १३ गते अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
भग्नावशेषका रूपमा रहेको कोतघरलाई सेनाले पुस्तकालयसहितको कोतघर निर्माण गरी एक थान कम्प्युटरसहित कोतघर अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको एक वर्ष नपुग्दै जीर्ण भएको पत्रकार प्रकाश भाटले बताए ।

कोतघरको धुरीमा राखिएको काठ भाच्चिएर चुहिन थालेपछि अमरगढी नगरपालिकाले कोतघरमाथि त्रिपाल हालेर राखेको स्थानीयहरूको भनाइ छ ।

अमरगढी किल्ला घुम्न आउने पर्यटकहरूलाई किल्लाको इतिहास र युद्धमा प्रयोग भएका युद्ध हतियारका बारेमा जानकारी गराउने उद्देश्यले निर्माण गरिएको कोतघर प्रयोगमा नआउँदै भत्किन थालेको अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रविन जैरुले बताए ।

नेपाली सेनाले अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको कोतघर एक वर्षभित्रै चुहिन थालेपछि कोतघर बचाउनका लागि नगरपालिकाले त्रिपाल राखेको अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।

वि.सं. १८४७ मा कर्णालीवारि राज्य सञ्चालनका साथै महाकाली रपारि कुमाउ आक्रमण गर्दाका समयमा अमरसिंह थापाले किल्लाको निर्माण गरेका थिए । तत्कालीन समयमा युद्ध गर्दा उनले प्रयोग गरेका पुराना हतियारहरूको खोजी गरी कोतघरभित्र संग्रहालय बनाएर राख्नुपर्ने स्थानीय नरेशबहादुर थापाले बताए । गोरखापत्रले लेखेको छ ।