असोज ३०, २०७८ शनिबार

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर दीपक कोइरालाले यो गीत त्यसै लेखेका होइनन् । दशैं तिहारमा फौजीले घर जान नपाउँदाको पीडालाई उनले शब्दमा उतारेका थिए । २०६२ सालमा लेखिएको यो गीत सुरक्षाकर्मीको प्रिय गीत हो । दशैं सुरु भएसँगै ब्यारेकमा हरेक वर्ष यही गीत घन्किन्छ, गाउँघर, टेलिभिजन र रेडियोमा पनि बज्छ ।

दशैं, तिहारमा फौजीको दुःख र पीडालाई प्रतिबिम्बित गर्ने यो गीत लेख्ने कोइराला भन्छन्, ‘एउटा फौजी २४ सै घन्टा ड्यूटीमा रहनुपर्छ, सुरक्षाकर्मीले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गरिदिए भने मात्र अरूले ढुक्कसँग चाडपर्व मनाउन पाउने हो, यसैमा हामीलाई खुशी पनि मिल्छ ।’

वर्षदिनमा आउने चाडमा घर जाने रहर कसलाई हुँदैन र ! तर फौजीका लागि यो अवसर विरलै जुर्छ । आमनागरिक चाडपर्वको वातावरणमा झुमिरहेका बेला फौजीलाई खल्लो नलागोस् भनेर ब्यारेकमै रमाइलो गर्ने प्रबन्ध मिलाइएको हुन्छ ।

तेह्रथुमका सिपाही निर्मल खनाल घरमा नगए पनि सामाजिक सञ्जालबाट भिडियो कल गरेर परिवारसँग भर्चुअल भेट गर्ने सुनाउँछन् । भन्छन्, ‘अहिले त इन्टरनेटले सहज भयो, पहिले जस्तो भए फोनमा आवाज सुन्न पनि हम्मेहम्म पर्थ्यो ।’
नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्याल भन्छन्, ‘घर जान नपाए पनि चाडपर्वको वेला खल्लो महसुस हुन दिँदैनौं, ब्यारेकमै पारिवारिक वातावरणमा दशैं मनाउँछौं ।’

तर कर्तव्यका लागि अगाडि सधैँ नतमस्तक हुने फौजीको दशैं अधिकांश समय कार्यक्षेत्रको ड्यूटीमै बित्छ ।