असोज ३०, २०७८ शनिबार

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा अहिले सम्पन्न भएको साफ च्याम्पियनसिपअन्तर्गतको फाइनल खेलमा भारत विजयी भएको छ । भारतले नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दा नेपाल उपविजेता बनेको हो ।

भारतका सुनिल क्षेत्रीले खेलको ४९ औं मिनेटमा पहिलो गोल गरेका थिए भने सुरेशसिंह वाङ्गजमले ५० औं मिनेटमा गोल गरेका थिए । भारतले खेलको दोस्रो हाफमा पहिलो गोल गर्दै दुई मिनेटभित्र दुई गोल गरेको थियो । 

खेलको ८९ औं मिनेटमा भारतले पुनः गोल गरेर अग्रतालाई ३–० बनायो ।

भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । साफअन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १–० ले हराएको थियो ।

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको थियो ।