असोज ३१, २०७८ आइतबार

म्याग्दीको रघुगङ्गा–२ भगवतीको कोतमा रु. तीन लाख कबोलेर सरकारी राँगो मार हानेका आर्यन खड्कालाई सम्मान गरिँदै। तस्बिर सौजन्य : धीरन खत्री

बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित ऐतिहासिक भगवती कोतमा तीन लाख रुपैयाँ कबोलेर बयरी डिलका आर्यन खड्काले राँगाको मार हानेका छन्।

यस वर्ष बढीबढाउ गर्दा सबैभन्दा बढी कबोलेका खड्काले सरकारी राँगो मार हानेका भगवती कोत पूजा व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्रबहादुर मल्लले बताए। 

भगवती कोतमा बडादसैंको नवमीका दिन बली चढाइने सरकारी राँगो जसले बढी रकम तिर्छ उसैलाई मार हान्न दिने चलन छ ।

उनलाई गाउँलेले टाउकामा फेटा गुथाएर बाजागाजासहित सम्मान गरेका थिए। यसअघि २०७६ को नवमीमा दुई लाख ८८ हजार कबोलेर सरकारी राँगोको मार हानेका थिए। 

मार हान्नेले तिर्ने रकम पूजा व्यवस्थापनमा खर्च गरेर बचेमा कोषमा राख्ने गरिएको छ। म्याग्दीको प्रमुख शक्तिपीठ भगवती कोतमा मार हान्नेलाई स्थानीयले प्रतिष्ठित मान्ने गर्छन् ।