असोज ३१, २०७८ आइतबार

काठमाडौं । शनिबार राति परेको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटामा क्षति पुगेपछि मेलम्ची-इन्द्रावती सडक फेरि अवरुद्ध भएको छ।

गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो।

मोटरबाटोमा गएरातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिले जनाएकाे छ । समितिका अनुसार मौसम सुधार आउनेबित्तिकै बाटो मर्मत गरी सञ्चालनमा आउँनेछ ।

हेलम्बूको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताए। असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो।