काठमाडौँ, १५ जेठःनेपाली कांग्रेसका सभापति गगन थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट नै मुलुकलाई समावेशी, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताउनुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा यो दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली जनताको त्याग, सङ्घर्ष र बलिदानको परिणामस्वरूप २०६२÷६३ को जनआन्दोलनपछि संविधानसभाको निर्वाचन सम्पन्न भई २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको इतिहास उहाँले स्मरण गर्नुभएको छ ।
यसैगरी, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गणतन्त्र नेपाली जनताको सार्वभौम अधिकारको प्रतीक भएको उल्लेख गर्दै यसको कुनै विकल्प नभएको बताउनुभएको छ ।
साथै उहाँले लोकतान्त्रिक प्रणालीभित्रै रहेर सुधार, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै जनविश्वास अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।