काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले अब नयाँ खेल जीवनको सुरुआत गर्ने बताएका छन् । घुँडाको सफल शल्यक्रियापछि विमलले सामाजिक सञ्चालन फेस्बुक मार्फत टिप्पणी गर्दै नयाँ खेल जीवनको सुरुआत गर्ने बताएका हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा मङ्गलबार उनको सफल शल्यक्रिया भएको हो । शल्यक्रियापछि उनले लेखेका छन्, ‘प्रतिस्पर्धाको समयमा म केही समयका लागि अड्किएको छु । तर हिम्मत हारेको छैन । नयाँ खेल जीवनको सुरुआत गर्नेछु । जुन माया, विश्वास र साथ पाएको थिएँ त्यो फेरि पाउनेछु ।’
‘मेरो चोटमा मलम लगाइदिनुहुने सबैलाई म धन्यवाद दिन चाहन्छु । विशेषगरी एन्फालाई यो समयमा मलाई गहयोग गरिदिनु भएकोमा आभारी छु । जय नेपाल, जय नेपाली फुटबल,’ उनले लेखेका छन् ।
राष्ट्रिम टिमको क्लोज क्याम्पमा प्रशिक्षण चलिरहेका बेला १८ डिसेम्बरमा उनको घुँडामा चोट लागेको थियो ।